सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ । सानै उमेर बिबाह गर्ने र बिस्तारै बिबाहित जोडीको मन फाट्दै जान थाल्ने भएको कारण सम्वन्ध बिच्छेदका मुद्धाहरु बृद्धि भई रहेका हुन ।
आर्थिक वर्ष ०८२।०८३ मा मात्र चौबीस वटा सम्वन्ध बिच्छेदका मुद्धाहरु जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालतका श्रेष्तादार श्रीदिप वाग्लेले बताए । उक्त आवमा अघिल्लो आवबाट दुई वटा यस्ता मुद्धा सरेको गरि जम्मा २६ वटा मुद्धा रहेकोमा १९ वटा फछ्यौट भएका र अब अदालतमा बिचाराधिन सात वटा मुद्धा बाँकी रहेका छन् ।
कुल फछ्यौट भएका १९ वटा मुद्धामा बाह्र वटा मेलमिलापद्धारा टुङ्गिएका र बाँकी सात वटा अदालतले फैसलाद्धारा टुङ्ग्याएका हुन । यसरी सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गराउनेमा उक्त आर्थिक वर्षमा जम्मा दर्ता भएका मुद्धामा सत्र वटा केटीले दर्ता गराएका छन भने बाँकी सात वटा केटाले एकल रुपमा अदालत पुगेर दर्ता गराएका छन ।
अदालतको पहलमा मेलमिलापबाट टुङ्ग्याएका मुद्धाहरुमा दुवै पक्षलाई सहमतिमा ल्याएर छुट्टाछुट्टै बस्ने गरि सहमति गरिएको र ती बाह्र वटै जोडी हाल आ आफ्नै किसिमले बसी रहेको उहाँको भनाई छ । कुनै बेला अदालतमा यस्ता मुद्धाहरु नपर्ने अवस्था रहेकोमा अघिल्लो आर्थिक वर्ष ०८१।०८२ मा २३ वटा सम्बन्ध बिच्छेदका मुद्धाहरु अदालतमा दर्ता भएकोमा २१ वटा पछ्यौट भएका थिए ।
उहाँले फैसला गरिएका मुद्धामा आएको बयान, मेलमिलापबाट सहमति गरिएका यस्ता मुद्धामा दुवै पक्षबाट आएका कुरालाई हेर्दा सानै तेह्र चौध वर्षको उमेरमा बिबाह गर्ने र बिस्तारै पछि मन फाट्दै जाने गएको कारण अन्तः सम्वन्ध बिच्छेदको अवस्थामा पग्ने गरेको पाईएको उहाँले बताउनुभयो ।
अर्को कुरा अहिलेको सामाजिक सञ्जालको कारण पनि सम्वन्ध बिच्छेद गराउने अर्को कारण थपिएको उहाँको भनाई छ । अदालतमा सम्वन्ध बिच्छेदको मुदा दर्ता गराउनु भएकी सर्केगार्ड गाउँपालिकाकी जयदेवी शाही सधै तनावमा वस्नु भन्दा छुट्टै वस्ने निर्णयमा पुगेर मुद्धा दर्ता पहिले आफैले गराएको र पछि मेलमिलापवाट छुट्टिएको थिईन ।
मानिसका लागि एक पटक आउने जिन्दकीमा शान्तिसंग वस्न नपाउनु भन्दा एक्लै बस्नु उपयुक्त भएको ठानेर नै यो बाटो रोजेकी हुन । त्यसैगरि सोही गाउँपालिकाका धनराज शाहीले पनि पहिले अदालतमा पुगेर मुद्धा दर्ता गराएका थिए । यी सम्वन्ध बिच्छेदका मुद्धाहरु दर्ता गराउने सवै तीन वर्ष मुनी उमेरका रहेका छन् ।























