
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास बिक्री केन्द्रमा लाममा बस्न बाध्य भएका छन्।
सिमकोट बजारमा ग्यास उपभोग गर्ने उपभोक्ताको संख्या बढ्दै गए पनि त्यसअनुसार पर्याप्त एलपी ग्यास सिलिन्डर उपलब्ध नहुँदा समस्या उत्पन्न भएको हो।
ग्यासको माग अत्यधिक रहेको र मौज्दात सीमित भएका कारण केही दिनका लागि ग्यास वितरण स्थगित गरिएको बताइएको छ।
ग्यास पाउने आशामा बिहानै खाली सिलिन्डर बोकेर लाइनमा बसेका कतिपय उपभोक्ता ग्यास नपाएपछि निराश हुँदै रित्तो सिलिन्डर लिएर कोठातर्फ फर्किन बाध्य भएका छन्।
ग्यासको नियमित आपूर्ति हुन नसक्दा खाना पकाउनेलगायत दैनिक कामकाजमा समेत समस्या परेको स्थानीय उपभोक्ताको गुनासो छ। उपभोक्ताले सहज र नियमित रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।























