३९ औं वर्षमा बालमन्दिर मावि

फोटो क्याप्सन  : बालमन्दिर मावि बार्षिक उत्सव मनाउने कार्यक्रम उपस्थित सहभागीहरु ।

सि.टा. समाचारदाता
सिमकोट ।      जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं अभिभावक दिवस एक कार्यक्रमको आयोजना गरि सो विद्यालयले शनिबार मनाएको हो ।

पानसमा ३९ वटा वाती राखेर दिप प्रज्जलन गर्दै र केक काटेर विद्यालयले आफ्नो बार्षिक उत्सव मनाउने कार्य गरेको छ । कक्षा दशसम्म अध्ययन हुने सो विद्यालयमा ४६१ जना बिधाथीृहरु अध्ययन गर्दे आएका छन् ।

जिल्ला मै बढी बिधार्थीहरु हुने विद्यालयमा बालमन्दिर पर्छ । दिवसको अवसरमा शुभकामना दिने बक्ताहरुले विद्यालयले अतिरिक्त कृयाक्लापका साथै अध्ययनलाई बढी ध्यान दिएर शैक्षिक प्रगति हाँसिल गर्नुपर्ने सुझाव दिएका थिए ।

नयाँ भवन निर्माण कार्य भई रहेकोले यस विद्यालयले हाल काठ र जस्तापाताको टहरो निर्माण गरेर पठनपाठन गराउदै आएको छ । गत शैक्षिक सत्रको एसईई परिक्षामा गाउँपालिका भित्रका सात वटा मावि मध्य सवै भन्दा बढी जिपिए बालमन्दिरका छात्रले ल्याएका थिए ।

समग्र विषय समेटिएका बार्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले प्रस्तुत गरेका थिए । मावि तहमा बल्लबल्ल स्थायी दरवन्दी पाएको यो विद्यालयले यसअघि तल्लो तहका शिक्षक र अनुदान तथा राहात शिक्षकबाट मावि चलाउदै आएका थियो ।

कार्यक्रममा बक्ताहरुले गुणस्तरीय शिक्षामा बढी जोड दिनु पर्ने सुझाव दिएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला भाम रोकाया, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, राप्रदा अध्यक्ष बिकास महत, सिमकोट गाउँपालिकाका वडा अध्यक्षहरु, रेडक्रम सोसाईटीका जिल्ला सभापति गणेश महत, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, छिमेकी विद्यालयका प्रधानाध्यापक शिक्षक, अभिभावकको उपस्थिती रहेको थियो ।

कार्यक्रमा गत शैक्षिक सत्रमा कक्षामा प्रथम, द्धितीया र तृतीया हुने छात्रछात्रलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि विद्यालय शुक्रबार आयोजना गरेका अतिरिक्त कृयाक्लापमा विजेता बिधार्थिहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । बिधार्थीहरुले साँस्कृति कार्यक्रम र सडक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका शिक्षक धिरज रोकायाले सञ्चालन गरेका थिए ।