सि.टा.समाचारदाता
सिमकोट। हुम्ला जिल्लामा पहिलो पटक धान खेती गर्ने किसानहरुका लागि राईस थ्रेसर भित्रिएपछि सहज भएको छ । यसअघि मानिस र पशु लगाएर धान बालाबाट दाना झार्ने कार्य गरिदै आएको भएपनि यस वर्षबाट राईस थ्रेसर भित्रिएपछि किसानलाई सहज भएको हो ।
पाकेर काटेको धानका बालाबाट धान निकाल्नका लागि राईस थ्रेसर भित्रिएर प्रयोगमा आउदा किसानमा खुसीयालीका साथै सहज पनि भएको अदानचुली गाउँपालिका– २ का परबहादुर थापाले बताए । उक्त वडाका गल्फागार्डका किसानले आफ्नो पाकेको धानबालीलाई प्रशोधन गर्न छिटो, छरितो र सफा पनि भएको उनको भनाई छ ।
यसअघि राईस थ्रेसर नहुँदा पाकेर काटीसकेपछि सुकेको धानलाई मानिस र पशुबस्तु हिडेर प्रशोधन गर्नु पथ्र्यो । त्यतिले नपुगेर मानिसहरुले अन्तमा हातैले पनि माड्ने गरिन्थ्यो । यसले एउटै किसानको बालाबाट धान निकाल्न दुई तीन दिन लाग्ने गथ्र्यो । राईस थ्रेसर गाउँमा भित्रिएर प्रयोगमा आएपछि दिनमा तीन चार किसानको धानको दाना निकाल्ने कार्य हुने गरेको छ ।
बिधुतको ब्यवस्था नभएको कारण हाल जेनेरेटेटरबाट उक्त थ्रेसर सञ्चालन गरिएको छ । धानको बाला प्रशोधनका लागि पहिलो पटक नयाँ प्रविधि परिक्षणका रुपमा भित्र्याएको र त्यो सफल भएको कृषि बिकास कार्यालयका प्रमुख चुणमणी पन्तले बताए ।
यस पटक अदानचुली गाउँपालिका– १ का किसानका लागि राईस थैसर कार्यालयले अनुदानका उपलव्ध गराएको उनले बताए । परिक्षण कार्य सफल भएकोले अब जिल्लाका धान खेती हुने किसानहरुले यो प्रविधि भित्र्याउन सहज भएको भनाई उनको छ ।










