आज राती यी प्रदेशमा भारी वर्षाको संभावना

 

सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार आज राति बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने देशको अन्य भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । बिहीबार र शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ ।

सो दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।