दोस्रो अभ्यासमा नेपाल विजयी

सि.टा समचारदाता

नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ। क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको हो। योसँगै तीन खेलको ऋंखलामा नेपालले १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो। ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए। त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा विकेटकिपर निकोलस मनोहरले १९ रन बनाएका थिए।

नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिंदा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १ सय ७६ रन बनाएको थियो। नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए। उनी बाहेक अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए। एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए। तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।