सि.टा समचारदाता
सत्तारुढ दलहरूका तर्फबाट पनि सरकारको सय दिनको कामबारे सामुहिक धारणा सार्वजनिक गरिने भएको छ। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी कार्तिक ९ गते शुक्रवार अपरान्ह ३ बजे बैठक बसेर सरकारको सय दिनको कामबारे साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री ओलीले बुधवार (आजै) अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले सय दिनमा गरेका काम सार्वजनिक गर्नेछन् । तर सत्तारुढ अन्य दलहरूले पनि सरकारलाई आगामी दिनमा गर्नुपर्ने कामहरूको सुझावसमेत दिनेगरी सय दिनको कामबारे साझा दृष्टिकोण सार्वजनिक गर्ने सहमती गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले भने, ‘सरकारले सय दिन पूरा गरेको छ । र सत्ता समर्थक दलहरुको आज संयुक्त बैठक भर्खरै सम्पन्न भएको छ । सय दिन पुगेको उपलक्ष्यमा सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले आज ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले सरकारका तर्फबाट भए, गरेका कामहरुको र आगामी दिनहरुमा गर्ने कामहरुका सन्दर्भका बारेमा सम्बोधन गर्नुहुनेछ ।
र, सरकारमा रहेका राजनीतिक दलहरुको तर्फबाट अहिलेसम्म सरकारले गरेका कामहरु र आगामी दिनमा सरकार रहेका राजनीतिक दलहरुको तर्फबाट सामूहिक रुपमा कसरी अगाडि बढ्ने भन्ने बारेमा हामी पर्सी ३ बजे सत्तारुढ दलको बैठक बसेर आफ्ना दृष्टिकोण ल्याउने भन्ने सहमती गरेका छौं ।‘
सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै टिप्पणी भइरहेका बेला सत्तारुढ दलहरूले सरकारले आगामी दिनमा गर्ने कामहरुसहित उसले सय दिनमा गर्ने कामबारे साझा धारणा सार्वजनिक गर्न लागेको हो ।
















