सि.टा. समाचारदाता
सिमकोट । गत भदौ ३१ गतेबाट लाग्दै आएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा लागेको ताला खोलिएको छ । यसअघि प्रेश चौतारी नेपालको हुम्ला शाखाले राख्दै आएको माग पुरा भएको कारण महासंघ शाखाको कार्यालयमा लागेको ताला सहमतिमा खोलिएको हो ।
असोज १९ गते भक्तपुरको बोडेमा आयोजना गरिएको नेपाल पत्रकार महासंघका जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेलाले यसअघि जिल्ला शाखाले सिफारिस गरेका सदस्यहरुको नामावली यथावत राख्ने निर्णय गरेपछि शाखाको कार्यालयमा लगाएईएको ताला खोलिएको प्रेश चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहले बताए ।
जिल्ला शाखाले सिफारिस गरेका सदस्यहरुको नाम केन्द्रबाट काटिएको भन्दै प्रेश चौतारीले गत भदौ ३१ गते ताला लगाएको थियो । उनले प्रेश चौतारीले राख्दै आएका मागहरु राष्ट्रिय भेलाले पुरा गर्ने परिपत्र जिल्ला शाखालाई पठाएपछि कार्यालयमा लागेको तालो खोलिएको बताए ।
ताला खोल्नका लागि चौतारीका अध्यक्ष सिंह, कोषाध्यक्ष बेलु महतारा, महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत, कोषाध्यक्ष सुरेश परियार र सदस्य लोग भण्डारीको उपस्थिती रहेको थियो । अब शाखाले आगामी मंसीर २८ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन मण्डल गठन गरेर केन्द्रले बताउने तयारी गरेको छ ।




















