सि.टा समचारदाता
ममर्तका लागि शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई भाडामा अचाक्ली बृद्धि भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्दा गर्दा आन्तरिक तथा बाह्य उडान संख्यामा उल्लेख्य मात्रामा कटौती हुँदा भाडा पाँच गुणासम्म बृद्धि भइसकेको छ।
पर्यटनको मुख्य सिजन अक्टोबर-नोभेम्बरमा अचाक्ली भाडा बृद्धि हुँदा कोराना महामारीपछि तंग्रिदै गरेको पर्यटन व्यवसायमै गम्भीर असर पर्ने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ बागमतीका अध्यक्ष विष्णु कार्कीले बताए।
विमानस्थल मर्मतको सूचना सार्वजनिक भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ करिब २९ प्रतिशत र आन्तरिक उडान ३५ ले कटौती भएको जनाएको छ।
क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल सञ्चालनको अवधि दैनिक सात घण्टा घटेपछि उडानमा पनि कटौती गरिएको हो। मर्मत पाँच महिनासम्म चल्ने हुँदा त्रिभुवन विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएको छ।
साविक अवस्थामा बिहान ६ बजेदेखि राति २ बजेसम्म २१ घण्टा सञ्चालन हुँदै आएको छ । अब दैनिक सात घण्टा उडान अवधि कटौती हुने भएपछि भाडामा उल्लेख्य बृद्धि हुँदा यात्रु मर्कामा पर्ने भएका हुन्। क्यानका अनुसार हप्तामा सरदर ४१८ अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा मर्मत अवधिभर १२३ उडान कटौती गरेर २९५ मा सीमित गरिएको छ।
काठमाडौँबाट दिल्लीको भाडा करिब १२ हजार हुँदै आएकोमा अहिले नै ६० हजार पुगिसकेको छ। कार्कीले पिक समयमा विमानस्थल मर्मत नगर्न व्यवसायी तथा यसका संघ संगठनले आग्रह गरे पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे। उनले भने, ‘हामीले यो सिजनमा होइन। जनवरी फेब्रुअरीमा मर्मत गर्न सरकारलाई आग्रह गरेका हौँ। तर सुनुवाइ भएन।’
यो बेला विदेशीका वैदेशिक रोजगारीमा गएका नेपालीहरु चाडबाड र विदेशमा हुने बिदाका कारण घुम्न आउने भए पनि हवाइ उडानमा भएको कटौती र अचाक्ली भााडा बृद्धिले रोकिएका छन्।
त्यस्तै नेपाल आउने योजना बनाइ रहेका विदेशी पर्यटकहरु पनि हवाइ भाडाका कारण अन्यत्रै जान थालेको कार्कीले बताए।
भैरवाहामा सिटीमेट होटल सञ्चालन गरिरहेका रवि शर्माले पनि उडान प्रभावित हुँदा व्यवसायी धरासायी बन्ने अवस्थामा पुगेको बताए। भैरहवा विमानस्थल सञ्चालन हुने आशामा त्यस क्षेत्रमा लगानी भए पनि सञ्चालन नहुँदा व्यवसायी निरास भएको बताए।
‘आन्तरिक पर्यटक घटेको तीन वर्ष भयो। यहाँबाट अन्तराष्ट्रिय उडान नहुँदा हामी हतास भइसकेका छौँ, शर्माले भने, ‘अहिले अन्तराष्ट्रिय उडानमा भएको भारी कटौतीले खण्डहर बन्ने अवस्था छ।’
के के हुँदै छ मर्मत?
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्न लागेको हो।
आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको बताए। विस्तारका लागि १५ अर्ब खर्च हुने अनुमान गरिएको छ।
यसअघि विसं २०७७ मा पनि उडान कटौती गरेर विमास्थलको धावनमार्ग विस्तार गरिएको थियो। त्यसबेला बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।
हाल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आए पनि ती विमानस्थल त्रिभुुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प बन्न सकेका छैनन्।
















