सि.टा समाचारदाता
सिमकोट । मंसीर १६ गतेको उपनिर्वाचनका लागि नेकपा एमाले र माओवादीले उम्मेदवार छनौटमा ढिलाई गरि रहेका छन् । एमालेले टोली बनाएर मत सर्वेक्षण गरि रहेको छ भने माओवादी केन्द्रले कातिक २३ गते पार्टीको बैठक राखेर पन छनौट गर्न नसकेको हो ।
उम्मेदवारी दर्ता गर्न पाँच दिन मात्र बाँकी रहँदा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार छनौटमा ढिलाई गर्नुको मुख्य कारण संभावित जित्ने उम्मेदवारको खोजीमा रहेको कारण पनि देखिएको छ । अनिवार्य महिला मात्र उम्मेदवार छनौट गर्नु पर्ने निर्वाचन आयोगको परिपत्रले गर्दा पनि ती दुवै दललाई उम्मेदवार छनौटमा ढिलाई भएको हो ।
माओवादी सचिव धर्मराज बोहराले छलफल ढिलाई भएको कारण उम्मेदवार छनौटमा केही ढिलो भएको भएपनि बुधबारसम्म छनौट हुन सक्ने बताए । आकांक्षी बढी भएको कारण पनि ढिलाई भई रहेको बताउदै उनले तर अब छान्नै पर्ने बाध्यता रहेको जानकारी दिए । सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट कुशुम कार्कीको बढी चर्चा रहेको छ ।
एमाले उपाध्यक्ष प्रकाश बहादुर शाहीले सर्केगार्ड बैठकले वडा र गाउँपालिकाबाट सिफारिस भएका नाम भन्दा पनि पार्टीको जिल्ला कमिटीको पदाधिकारी, प्रदेश र केन्द्रीय कमिटीको सदस्यहरु सम्मिलित चार टोली मत सर्वेक्षणका लागि वडा स्तरमा परिचालन भएको र त्यसको प्रतिबेदन आएपछि उम्मेदवार छनौट गरिने बताए । उक्त टोली सबैतिर पुगेको र अब बैठक बसेर उम्मेदवार टुङ्ग्याउने तयारी रहेको उनले बताए । यसअघि २४ गते बसेको नेपाली काँग्रेसको बैठकले आफ्नो पार्टीको तर्फबाट उपाध्यक्ष पदका लागि सबिता बुढालाई उम्मेदवार बनाउने निर्णय गरे अनुसार चुनावी प्रचारमा काँग्रेस लागि सकेको छ ।















