सि.टा. समाचारदाता
विश्वकप छनोटमा ब्राजिल बराबरीमा रोकिँदा अर्जेन्टिना भने पराजित भएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिल १-१ गोलको बराबरीमा रोकिँदा अर्को खेलमा अर्जेन्टिना भने पाराग्वेसँग २-१ ले पराजित भएको हो।
भेनेजुएलाको घरेलु मैदानमा भएको खेलमा ब्राजिलले ४३ औं मिनेटमा राफिन्हाको गोलमार्फत अग्रता बनाएपनि ४६ औं मिनेटमा टेलास्को सेगोभियाले घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। ६२ औं मिनेटमा ब्राजिलले पेनाल्टीको मौका पाएपनि भिनिसियस जुनियरले चुकाउँदा ब्राजिलले सम्भावित अग्रताको अवसर गुमाएको थियो।
अन्तिम समयमा भेनेजुएलाका सब्सटिच्युट खेलाडी एलेक्सेन्डर गोन्जालेज रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए। प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोलका प्रयास अन्तिमसम्म गरेपनि थप गोलका लागि सफल भएनन्।

त्यस्तै, पाराग्वेको मैदानमा भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिना पराजित भयो। छनोटमा अर्जेन्टिनाको यो दोस्रो हार हो।
अर्जेन्टिनाले खेलमा लौटारो मार्टिनेजको गोलमार्फत ११ औं मिनेटमा अग्रता बनाएपनि घरेलु टोलीले १९ औं मिनेटमा अर्नाल्डो सानाब्राइको गोलमार्फत पारग्वेले बराबरी गोल फर्कायो। खेलमा अग्रता भने एल्डरेटले ४७ औं मनेटमा गरेको गोलमार्फत पाराग्वेले लिएको थियो। उक्त अग्रतानै उसलाई तीन अंकका लागि निर्णायक बन्यो।
हारपछिपनि अर्जेन्टिना ११ खेलबाट २२ अंकका साथ शीर्ष स्थानमा कायम छ। त्यस्तै एक अंक हासिल गरेको ब्राजिल १७ अंकका साथ तेस्रो स्थानमा रहँदा एक खेल कम खेलेको कोलम्बिया १९ अंकका साथ दोस्रो स्थानमा छ।
दक्षिण अमेरिकी छनोटभमा शीर्ष ६ मा रहने टोली विश्वकपमा सोजै छनोट हुँदा अर्को सातौं स्थानमा रहने टोलीले प्लेअफको अवसर पाउने छ।
















