सि.टा. समाचारदाता
सिमकोट । बालमन्दिर माध्यमिक विद्यालय कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुद्वारा सरसफाइ कार्यक्रम गरिएको छ । मञ्चमा पुजापाठ सञ्चालन गर्ने कार्य हुने भएकोले बिधार्थीहरुले शुक्रबार सरसफाई कार्यक्रम गरेका हुन ।

लामा साँस्कृतिक मञ्च हुम्ला र बज्रगुरु उपसमितिले प्रत्येक बर्ष सञ्चालन गराउँदै आएको बज्रगुरु पुजा कार्यक्रम यस वर्ष बरगाउँ गाउँको आयोजनामा मंसीर १० देखि १५ गतेसम्म सञ्चालन हुने भएकाले बिधार्थीहरुले सरसफाई कार्यक्रम गरेको विद्यालयका शिक्षक छटुप लामाले बताए । कक्षा ८ को स्थानीय विषय अन्तरगत सार्वजनिक सम्पदाको संरक्षणका लागि सरसफाइ कार्यक्रम सञ्चालन गर्ने गतिविधि भएकाले उक्त सरसफाई कार्य गरिएको हो ।

मञ्चको चारैतर्फ सरसफाई गर्ने कार्य भएको हो । उक्त सरसफाइ कार्यक्रममा ७५ जना विद्यार्थी, विषय शिक्षक, लामा साँस्कृतिक मञ्चका कार्य समितिका सदस्यहरु र बरगाउँबासीहरुको पनि सहभागीता रहेको थियो । बिधार्थीहरुले स्वयम सेवा भावले सरसफाई कार्य गरेका हुन ।
लामा साँस्कृतिक मञ्च हुम्लाका उपाध्यक्ष श्री प्रेम लामाले सरसफाई कार्यक्रम पश्चात् सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिए भने सिमकोट निवासी सम्पूर्ण बरगाउँवासी चिया बिस्कुटको ब्यवस्था गरेका थिए ।
















