सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यामिक विद्यालयले मंगलबार हिउमै पठनपाठन गर्ने कार्य गर्नु परेको छ । भित्र कक्षामा चिसो हुने भएको कारण विद्यालयका सबै कक्षाहरु बाहिर हिउ जमेको चौरमा पठनपाठन गर्नु परेको हो ।
विद्यालयका प्रधानाध्याक मेजबहादुर बुढाले हिमपात भएपछि भित्र कक्षा कोठामा निक्कै जाडो हुने देखिएपछि बाहिर हिउ जमेको चौरमा पठनपाठन गर्ने कार्य भएको बताए । मंङ्सीर महिनाको अन्तिम भएको कारण त्यसै त चिसो बढेको र त्यस माथि झन हिमपातको कारण चिसो निक्कै बढेको कारण चौरमा राखेर पढाउनुको बिकल्प बिद्यालयलाई नभएको हो ।
कक्षामा बिधार्थी बसेर पढ्ने तथा शिक्षकलाई पढाउन सक्ने अवस्था चिसोको कारण नभएपछि बाहिर हिउ भएपनि घाम लागेको चौरमा डेस्क बेन्च राखेर पढाई सुचारु गरिएको उनको भनाई छ । घाम राम्रो लागेको कारण चौरमा भएपनि पढाई भने पुरै पिरियडको भएको थियो ।
विद्यालयले चौरमा बालबिकास देखि कक्ष दशसम्मका झण्डै तीन सय बिधार्थीहरुलाई राखेर पढाई सुचारु गरिएको हो । माथिल्लो कक्षाका बिधार्थीहरुलाई त बाहिर राख्नु पर्यो भनेपछि साना कक्षाका लागि त झनै आवश्यक देखिएको हो ।
हुम्ला जिल्लाका सबै विद्यालयहरुमा यो शैक्षिक सत्रको अन्तिम पढाई भई रहेको छ । पुस पहिलो हप्ताबाट वार्षिक परिक्षाहरु सञ्चालन हुन लागेको छ ।
















