सि.टा. समाचारदाता
सिमकोट । जिल्ला पहिलो पटक प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । प्रजनन स्वास्थ्य सेवाको उपभोग बढी मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी ल्याउनका लागि उक्त जिल्ला स्तरीय समिति गठन गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरिएको स्वास्थ्य सेवा कार्यमा उक्त कार्यक्रम हेर्ने सम्पर्क ब्यक्ति सपना रानामगरले बताईन ।
समितिको सदस्यहरुमा जिल्ला अस्पतालको मेसु, शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख, नेपाल रेडक्रम सोसाईटीका प्रमुख, सम्वन्धित वडाको वडा अध्यक्ष, सम्पर्क ब्यक्ति, सम्वन्धित स्थानीय तहको महिला तथा बालबालिका शाखा प्रमुख र स्वास्थ्य सेवा कार्यालयका प्रमुख सदस्य सचिव रहेका छन् ।
त्यसैगरि सरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजलाई पनि आमन्त्रीत सदस्यमा चयन गरिएको छ । यसलाई चाँडै जिल्लाका अन्य छ वटा गाउँपालिका स्तरमा पनि बिस्तार गरिने उनले बताईन । समिति गठनसंगै प्रजनन स्वास्थ्यका क्षेत्र सुधार आउने बिस्वास गरिएको छ ।
























