सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले गरेको निर्णयले यसै आर्थिक वर्षमा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिनेमा बिस्वस्त हुनु भएकोे छ ।
गत मंगलबार वसेको मन्त्री परिषदको बैठकले सो बेलिब्रीज निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरे अनुसार अब बेलिब्रीज निर्माणको बाटो खुलेको र चाँडै नेपाली सेनाले काम थाल्नु पर्ने हुम्लावासीले बताएका हुन । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले लिएको दोजाम कर्णाली नदी माथिको बेलिब्रीज निर्माणको जिम्मा नेपाली सेनालाई दिने प्रस्तावलाई मंगलबार बसेको मन्त्री परिषद बैठकले पारित गर्दै अब चाँडै दोजाम कर्णाली माथि बेलिब्रीज निर्माण हुने बाटो खुलेको हो ।
सरकारको निर्णयले सदरमुकाम सिमकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसंग जोडिनेमा जिल्लावासी बिस्वस्त भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । सरकारले निर्णय गरि सकेको कारण अब काम छिटो सुचारु गर्न आग्रह गर्दै उनले यसका लागि गाउँपालिका नेपाली सेनालाई सहयोग गर्न तत्पर रहेको बताए ।
सदरमुकाम सिमकोटलाई सडक सञ्जालसंग जोड्नका लागि सरकारले जुन निर्णय गरेको छ, त्यो स्वागत योग्य कुरा भएको बताउदै उनले सरकारलाई धन्यवाद पनि दिए ।
सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले जिल्लावासीको साझा मागलाई सरकारले समय मै ध्यान दिएर पुरा गरेको बताउदै यो हुम्ला जिल्लाको साझा सवाल रहेको बताए ।
यसअघि पनि कर्णाली करिडोरको काम नेपाली सेनाले समय मै गरेको स्मरण गराउदै उनले अब बेलिब्रीज निर्माण र आठ सय मिटर चट्टानी सडकको स्तरोन्नती गर्ने काम समय मै हुने बिस्वास ब्यक्त गरे ।
सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याएर कामको थालनी गर्न पनि उनले आग्रह गरे । यसका लागि पहलकर्ता र कार्यान्यनकर्ता सबै धन्यवादका पात्र भएको उनको भनाई छ ।
सो नदी माथि पुल निर्माण हुन नसकेको कारण हुम्ला जिल्लाको सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिन सकेको छैन् । खार्पुसम्म गत असारमा औपचारिक रुपमा यातायातका साधन सञ्चालन हुन थालेका थिए ।
सो स्थानमा पक्की पुन पनि निर्माणधिन अबस्थामा रहेको छ । तर, सो पुन निर्माण गर्ने क्रममा पुर्वपट्टीको पिलरको जग खन्ने क्रमर्मा पहिले तातो पानी निस्केर काममा बाधा पुगेो थियो भने पछि नदीको पानी नै पुलको पिलर निर्माण स्थलमा पसेर काम रोकिएको थियो ।
उक्त जुन हालसम्म सुरु हुन सकेको छैन । पक्की पुन निर्माणको अवस्था यस्तो भएपछि जिल्लावासीले तत्कालका लागि दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माणका लागि सरकारसंग माग गर्दै आउनु भएको थियो ।
त्यसैगरि सलीसल्ला सिमकोट खण्डको आठ सय मिटर कडा चट्टानी र साँघुरो सडकको स्तरोन्नतीको काम पनि नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ । यसबाट सो खण्डको असजिलो खण्डको सडक पनि निर्माण हुने बाटो खुलेको छ ।
हाल सोही साँघुरो र ग्रेड नमिलेको सडकमा यातायातका साधन गुड्दै आएका छन् । यसबाट बोक्चे गौडा, भिगौडा देखि गाउँपालिका केन्द्रसम्मको चट्टानी असजिलो र साँघुरो सडकलाई फराकिलो बनाउने काम पनि अब सेनाले गर्नेछ ।
सरकारले बेलिब्रीज र चट्टानी सडक निर्माण गर्न सेनालाई जिम्मा लगाउने निर्णय गरेको भएपनि यसको लिखित रुपमा परिपत्र सेनालाई आएपछि काम अगाडी बढ्ने छ ।
























