सि.टा समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते सोमबार दिउसो १ वजेबाट हुनेछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको र पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो ।
यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।
सचिवालयमा तीन वटा विधेयक दर्ता भएको जनाएईको छ । अन्य चार वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेका छन् । अर्थ तथा प्राकृतिक स्रोत समितिमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश मामिला समितिमा कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास समितिमा दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक छलफलका चरणमा रहेका छन् ।
अहिलेलाई प्रदेश सभा बैठकका तीन वटा दर्ता भएका र चार वटा समितिमा छलफलमा रहेका विधेयक रहेको र पछि प्रदेश सरकारले अन्य आवश्यक ठानिएका विधेयक ल्याउन सक्ने सचिवालयले जनाएको छ । यसअघि चौथो अधिवेशन गत असोज १५ गते अन्त्य गरिएको थियो ।
















