लिमिटेडद्धारा हुम्लामा सात हजार आठ सय भन्दा बढी क्वीन्टल खाद्यान्न छुटमा बिक्री

फोटो क्याप्सन लिमिटेडको गोदामबाट छुटको खाद्यान्न खरिद गरेर लग्दै स्थानीय । तस्बीर : सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा सात हजार आठ सय क्वीन्टल खाद्यान्न छुटमा बिक्री बितरण गरिएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व र चाडपर्व लक्षित कार्यक्रम अनुसार लिमिटेडले जिल्लाभर सर्वसाधारणका लागि यो खाद्यान्न छुटमा बिक्री गरेको हो ।

यो अवधिमा शाखा कार्यालय सिमकोटबाट सात हजार ४३४ दशमलव २५ क्वीन्टल र श्रीनगर डिपोबाट ४५८ दशमलव ७५ क्वीन्टल चामल प्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गरिएको छ । चार महिना अवधिमा २६ लाख ७५ हजार ४५० रुपियाँ बराबर मुल्यको खाद्यान्न छुटमा जिल्लाका सिमकोट शाखा र अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट बिक्री गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

लिमिटेडले यो खाद्यान्न विशेष गरि सामाजिक उत्तरदायित्व अर्न्तगत र चाडपर्वका बेला छुट दिने नियम अनुसार हुम्ला जिल्लामा पनि छुटमा खाद्यान्न बिक्री गरिएको छ । यो खाद्यान्न गत असोज ६ गतेबाट बिक्री सुरु भएर माघ २ गतेसम्म बितरण गरिएको थियो ।

यसमा प्रतिकेजी ९५ नब्बे पर्ने मसिनो चामल नब्बे रुपियाँमा बिक्री गरिएको थियो भने  ७४ रुपियाँ प्रतिकेजी पर्ने सोना मोटो चामल ६९ रुपियाँमा बिक्री गरिएको थियो । त्यसैगरि अरुवा मोटो ६६ रुपियाँ प्रतिकेजी पर्ने चामलको ६१ रुपियाँमा बिक्री गरिएको थियो ।

त्यसैगरि यो अविधमा  प्रतिकेजी सात रुपियाँ छुटमा छ हजार ३५० लिटर खाने तेल र पाँच रुपियाँ छुटमा ७१ क्वीन्टल चिनी पनि सर्वसाधारणलाई बिक्री गरिएको होे । तीन किसिमका खाद्यान्नमा छुट पाएपछि सर्वसाधारणले राहत महशुस गरेको उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । बिकट र हालसम्म सडक सञ्जाल नजोडिएको जिल्ला भएको कारण यस्तो छुटको ब्यवस्थालाई नियमित गर्न  लिमिटेडलाई हुम्लावासीको आग्रह छ  ।