
सि.टा. समाचारदाता
सिमकोट । सरकारी स्तरबाट न्यून सेवा र सुविधा प्रदान गरेर दुरदराजका वस्तीमा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्दै आउनु भएकी स्वास्थ्य स्वयम सेविकाको भूमिका प्रभावकारी देखिएको छ ।
ग्रामीण वस्तीमा बस्ने भएको कारण जतिखेर पनि गाउँगाउँमा सेवाग्राहीको साथमा उपस्थित हुने भएको कारण तोकिएको समयमा उपचार सेवा प्रदान गर्न उहाँहरुको भूमिका उल्लेखनीय रहेको हो ।
ताँजाकोट गाउँपालिका– १ को भैसामाझ स्वास्थ्य चौकी अन्र्तगतकी स्वास्थ्य स्वयम सेविका अनिता खड्काले हालसम्म आफुले प्रदान गरेको सेवा प्रति सन्तुष्टि जनाउदै न्यून सेवा र सुविधाले पनि मावन सेवा गर्न पाउनु मै गर्व रहेको बताईन ।
विगत सात वर्षदेखि सेविकाको रुपमा काम गर्दै आएकी खड्कालाई वडा अन्र्तगतका सबै घरधुरीका स्थानीयले चिन्दै आएका छन्। उनले जिम्मेवारी लिएपछि सुविधा भन्दा पनि कामलाई ठुलो मान्नु पर्ने बताईन ।
हालसम्म उनले वडाका सवै घरधुरीमा पुगेर सेवा दिने कार्य गरि सकेकी छन् । त्यसैले खड्कालाई गाउँका मानिसले सामाजिक कार्यकर्ताको रुपमा चिन्हे गर्छन् । गाउँमा खड्का पुग्ने बित्तिक्कै केही न केही उपचारका कार्य हुन्छ भन्ने ठम्याई गाउँवासीको छ । उनले हुन त आफ्नो काम स्वास्थ्यकर्मीलाई सघाउ पुर्याउनु भएपनि त्यसले गाउँमा ठुलै महत्व राख्ने गरेको बताईन ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बिशेष गरि मातृ शिशु स्वास्थ्य, पोषण खोप कार्यक्रममा स्वास्थ्य स्वयम सेविकाको महत्वपुर्ण भूमिका रहने गरेको बताए । सिमकोट गाउँपालिकामा यो कामका लागि आठ वटै वडाका सबै बस्तीमा ४५ जना सेविकाले सेवा प्रदानमा सघाउ रहेकी छन् ।
काम अनुसार सेवा र सुविधा खासै राम्रो नभएपनि आफ्नो जिम्मेवारीमा महिला स्वास्थ्य स्वयम सेविकाले खेलेको भूमिका महत्वपुर्ण भएको उनले बताए । खासमा स्वास्थ्य स्वयम सेविकाले राज्यबाट पाउने सुविधा भनेको वर्षमा दश हजार पोसाक भत्ता, बाह्र हजार यातायात खर्च र प्रदेश सरकार पाँच हजार गरि जम्मा २७ हजार पाउदै आएका छन् ।
काम अनुसार यति सुविधा पुर्ण नभएपनि बिशेष गरि महिला र पाँच वर्ष मूनिका बालबालिकाको स्वास्थ्य उपचारका लागि स्वास्थ्य स्वयम सेविका रात दिन खटिनु मुख्य कुरा भएको उनको भनाई छ ।
यता ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले प्राथमिक उपचार, पाँच वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, खोप, पोषण, सरसफाई, प्रत्येक महिना स्वास्थ्य आमा समुहको बैठकमा सहभागिता हुने जस्ता कामले स्वास्थ्य स्वयम सेविकाको महत्व झल्किने बताए ।
सिमित स्वास्थ्यकर्मीका भरमा स्वास्थ्य संस्था सञ्चालनमा असजिलो हुने भन्दै उनले काम अनुसार मामको ब्यवस्था हुन सकेको भए अझै यो सेवालाई प्रभावकारी बन्ने बताए । ती काम बाहेक स्वास्थ्य स्वयम सेविकाहरुले जनचेतना फैलाउने काममा पनि सबै सहयोगी गरि रहेका हुन्छन् ।
हुम्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडाहरुमा रहेका स्वास्थ्य संस्था अन्र्तगत २४९ जना स्वास्थ्य स्वयम सेविका हाल कार्यरत रहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतिक्षा भारतीले बताईन ।
उनका अनुसार गाउँपालिका अनुसार हाल कार्यरत स्वास्थ्य स्वयम सेविकाहरु नाँम्खामा ३६ जना, सिमकोटमा ४५ जना, खार्पुनाथमा ३६ जना, सर्केगार्डमा ५४ जना, चङ्खेलीमा ३७ जना, अदानचुलीमा १८ जना र ताँजाकोट गाउँपालिकामा २३ जना रहेकी छन् ।
उनले सेविकाको काम प्रभावकारी देखेर नै मन्त्रालयले महत्वका साथ उहाँहरुलाई परिचालन गर्ने कार्यक्रम तय गरेको बताईन ।















