हुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउने कार्य पछि सर्यो

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप लगाउने कार्य पछि सरेको छ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर लगाईन लागिएको सो खोपका लागि हाल जिल्लाभरका विद्यालयहरु बन्द रहेको कारण देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको भएपनि हुम्लामा मिति पछि सारिएको हो ।

हुम्लामा जिल्लामा फागुन १८ गतेदेखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने भएको प्रमुख प्रतिक्ष भारतीले बताईन । उनले यतिबेला जिल्लाका सवै विद्यालयहरु दिउदे बिदाको कारण बन्द रहेका बताईन । फागुन २ गतेबाट विद्यालय सुचारु भएपनि १५ गतेपछि मात्र पठनपाठन गर्ने तयारीमा विद्यालयहरु रहेका छन् ।

जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको विद्यालय समेत बन्द रहेको कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई सो खोप लगाउन लागिएको हो । तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । कार्यालय प्रमुख भारतीका अनुसार जिल्लाका सात वटा गाउँपालिकाहरुमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको छ वटा गाउँपाकिलामा फागुन १८ देखि २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ ।

भने उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको २० गतेदेखि २०८२ सालको बैशाख ७ गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरी, सिमकोट गाउँपालिकाका बीस खोप केन्द्रबाट ७५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट ३६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६, चङ्खेलीमा सात खोपबाट ३३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६०७ र ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।