सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको लिमी लगाएतका उच्च क्षेत्रमा हिमपात भएको छ । मङ्गलबार बेलुका ती क्षेत्रहरुमा हल्का हिमपात भई रहेको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी लगाएत उच्च स्थानमा हिमपात भई रहेको लिमीका सुनखानी आविका शिक्षक बिकल तामाडले बताए ।
उनले मङ्गलबार बेलुकाबाट हल्का हिमपात हुने क्रम जारी रहेको र जमिनमा हिउ जम्न सुरु भएको बताए । लिमीमा यस वर्षको यो छैटौं हिमपात हो । लिमीका तीन वटै गाउँ तील र जाङका साथै लाप्चा, ताक्ची, न्यालु, नारा, यारी मुचुमा पनि हिमपात भई रहेको छ । उखासै बाक्लो हिमपात नभएको र मसिनो हिउ पर्ने क्रम जारी रहेको छ ।
नारा, न्यालु र लाप्चामा भने बाक्लो हिमपात भई रहेको छ । चिसो भने बढेको कारण लिमीका स्थानीयको जनजीवन प्रभावित भएको छ । तापक्रम पनि माईनसमा झरेको कारण चिसो बढेको बताउदै उनले चिसोको कारण पशुवस्तु पनि गोठ भित्रै राखिएको बताउनुभयो ।
























