पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप अभियान फागुन १८ गतेबाट हुने

फोटो क्याप्सन स्वास्थ्य सेवा कार्यालयले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीहरु । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य सेवा कार्यालयले आईतबार यो अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेर सो जानकारी गरेको हो ।

वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतिक्षा भारतीका अनुसार हुम्लामा जिल्लामा फागुन १८ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर लगाईन लागिएको सो खोपका लागि हाल जिल्लाभरका विद्यालयहरु सुचारु भएर भर्ना अभियान सञ्चालन भई रहेको कारण मिति पछि सारिएको होे ।

देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको थियो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको कारण विद्यालय समेत बन्द रहेको कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने उहाँले बताउनुभयो । अभियान वारे जानकारी दिनका लागि खोप समन्वय समिति, सञ्चारकर्मी र अन्य सरोकारवाला पक्षलाई अभिमुखीकरण कार्यक्रम कार्यालयले आयोजना गरेको हो ।

किशोरीहरुलाई खोप लगाउनका लागि तीन हजार ७८० भाईल खोप जिल्लामा आई पुगेको र एक दुई दिनमा खोप केन्द्रतर्फ ढुवानी गरिने छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई सो खोप लगाउन लागिएको हो । तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । कार्यालय प्रमुख भारतीका अनुसार जिल्लाका सात वटा गाउँपालिकाहरुमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने छ । जिल्लाको छ वटा गाउँपालिकामा फागुन १८ देखि २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ ।

गाउँपालिकामा भने फरक मितिमा सुरु हुनेछ । उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको २० गतेदेखि २०८२ सालको बैशाख ७ गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरी, सिमकोट गाउँपालिकाका बीस खोप केन्द्रबाट ७५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट ३६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६, चङ्खेलीमा सात खोपबाट ३३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६०७ र ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले रोग लाग्नु भन्दा रोगको बाटो छेक्नका लागि खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य दिफा भण्डारी, गुल्मपति सन्तोस कुमार अधिकारी, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, चिकीत्सक, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।