लोग भण्डारी
सिमकोट । एक जना कृषि प्राविधिकले जागिर र ब्यवसायीक रुपमा बिरुवा उत्पादन गर्ने कार्य संगसंगै गर्दै आएका छन् । कृषि कर्मबाट पनि वर्षेनी आम्दानी राम्रो हुन थालेपछि सिमकोट गाउपालिका– ५ का गगन रोकायाले दुवै काम संगै गर्दै आएका हुन ।
रोकायाले जिल्ला कै एउटा गैरसरकारी संस्थाका कृषि प्राविधिकका रुपमा काम गर्दै आएका हुन । उनले जागिरले मात्र घर ब्यबहार चलाउन नसकिने र आफुले पढेको कुरालाई ब्यवहार मै लागु गर्न कृषि कर्मतर्फ लागेको उल्लेख गरे ।
श्रीमति गीता रोकायाको नाममा दर्ता गरिएको जिआर कृषि तथा पशु अर्गानिक फर्ममा कार्यालयबाट बचेको समयलाई सदुपयोग गर्दै स्याउ, ओखर, चुलीका बिरुवा उत्पादन गर्ने, हिउदमा ग्रीन हाउसका तरकारी उत्पादन गर्ने, च्याउ खेती गर्ने र प्याजका बेर्ना उत्पादन गरेर बिक्री हुँदै आएको छ ।
यसरी रोकायाले जागिरसंगै कृषि कर्म गर्ने कार्य यो पाँचौ वर्ष पुगेको छ । यसवर्ष आठ स्याउ र ओखरका बिरुवालाई यतिबेला कलमी गरि सकेका छन् । बर्खायाममा भने भाडामा लिएको जग्गाका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका हुन ।
उनले जागिर खाएपछि कृषि कर्म गर्न हुँदैन भन्ने मान्यताको आफु बिरोधी भएको कारण आफुलाई समय ब्यवस्थापन गर्न कठिन भई रहेको बताए । कृषि कर्मबाट वर्षमा दश लाख भन्दा बढी कमाई रोकायाको छ । उनले कम्पोष्ट मल र जैविक बिषादी पनि आफै उत्पादन गरेर रोग किराको उपचार गर्ने गर्छन ।
बचेको समयलाई खेर फाल्नु भन्दा कृषि कर्म गर्दै आफ्नो आम्दानी बढाउन सफल भएको उनले बताए । अन्य मानिसहरु नराखे पनि फर्ममा श्रीमति रोकायाले पनि काम गर्दै आएका छन् । कृषिमा काम गरि रहेको कारण गैरसरकारी संस्थाको जागिर भोली कतिबेला जाने हो, त्यसमा उनलाई चिन्ता भने रहेको छैन
























