पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप अभियान सिमकोट र अदानचुलीमा सुरु

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको ( एच.पि.भी.) खोप अभियानको सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले निर्धारित खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयमसेवक पुगे पछि फागुन १८ गते आईतबारबाट खोप लगाउन सुरु भएको हो ।

एच.पि.भी.खोप अभियान जिल्लका सात मध्य दुई वटा गााउपालिकामा सुरु भएको छ । आईतबार सुरु भएका गाउँपालिकामा सिमकोट र अदानचुली गाउँपालिका रहेका छन् । सिमकोट गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि अभियानको थालनी गरिएको थियो । खोप लगाउने कार्यमा स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्कस प्रतिक्षा भारतीको पनि सहभागीता रहेको थियो ।

सो शुभारम्भ कर्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुखख दलु फडेरा, सिमकोट गउपालिकाका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतले निधक्क र बिना डर खोप लगाउन लक्षित वर्गका किशोरीहरुलाई आग्रह गरेका थिए ।

खोप लगाउने किशोरीहरुलाई एक दाना सुन्तलाको ब्यवस्था पनि स्वास्थ्य सेवा कार्यालयले गरेको थियो । देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको थियो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको कारण विद्यालय समेत बन्द रहेको कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन भएको हो ।

किशोरीहरुलाई खोप लगाउनका लागि तीन हजार ७८० भाईल खोप जिल्लामा आई पुगेको र सो भ्याक्सिन खोप केन्द्रतर्फ ढुवानी भई सकेको थियो । विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई सो खोप लगाउन लागिएको छ । भने विद्यालयमा अध्ययन गर्ने कक्षा छ देखि दशसम्मका किशोरीले पनि यो खोप लगाउने कार्य सुरु भएको छ ।

तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सुरु भएको हो । विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । जिल्लाका सात वटा गाउँपालिकाहरुमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन भएको छ ।