सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द

फोटो क्याप्सन बिधुत आपुर्ती बन्द भएको सदरमुकाम सिमकोट बजार । तस्बिर : सि.टा.

 

सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन गरिरहेको मेसिनको गभर्नरमा खराबी आएपछि सिमकोटको विद्युत् सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।

मुख्य उत्पादन मेसिनको महत्वपूर्ण उपकरण बिग्रिएपछि विद्युत् उत्पादन नै रोकिदा बिधुत बितरण कार्य बन्द गरिएको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए । उनका अनुसार गभर्नरमा समस्या आएपछि मेसिन सञ्चालन गर्न सकिएको छैन् ।

जिल्ला बाहिरबाट प्राविधिक टोली आएर गभर्नर मर्मत गरेपछि मात्रै विद्युत् उत्पादन पुनः सुरु हुनेछ । प्राविधिक टोली कहिले आउने र मर्मत गर्ने भन्ने बारेमा कार्यालय कुनै उल्लेख गरेको छैन् ।

विद्युत् आपुर्ती बन्द भएपछि खार्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत् उपभोग गरिरहेका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, विद्यालय, व्यवसाय र सर्वसाधारण प्रभावित भएका छन् ।

मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट, बैंकिङ कारोबार र कार्यालय सञ्चालनसम्मका दैनिक काम विद्युत् अभावका कारण प्रभावित भएका । केन्द्रको कुल क्षमता ५०० किलोवाट थियो । २५० किलोवाट क्षमताको एउटा मेसिन लामो समयदेखि बिग्रिएर थन्किएको छ ।