लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा

सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध खानेपानीको धारा पुगेपछि उक्त सपना पुरा भएको हो ।

गाउँपालिकाको लक्ष्य ‘एक घर, एक धारा” रहे अनुसार लामाखोल्सी गाउँका घरघरमा खानेपानीका धारा जडान गरेर पानी सञ्चालनमा आउदा उपभोक्तालाई सहज भएको स्थानीय पासाङ लामाले बताए ।

यसअघि निर्माण गरिएका खानेपानीका सार्वजनिक धारामा पानी खस्न छोडेको र खोलाको पानी प्रयोग गरि रहेको बेला टाक्सिङ खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको वर्षौदेखि शुद्ध खानेपानी पिउने सपना पनि पुरा भएको छ ।

अभियानलाई पुर्णता दिन शुद्ध खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि घरघरमै धारा पुगेपछि सहज भएको उनको भनाई छ । खानेपानीको सुविधा विस्तारसँगै धारा नजिकै भाँडा धोएर व्यवस्थित रूपमा सुकाउन मिल्ने चाङसमेत निर्माण गरिएको छ ।

शुद्ध खानेपानीको व्यवस्था गर्नु स्थानीय सरकारको दायित्व रहेको भन्दै शुशा परियोजनाका नाम्खा गाउँपालिकाका संयोजक दन्त शाहीले लागत साझेदारीमा खानेपानी योजना निर्माण भएर सञ्चालनमा आएपछि उपभोक्ताले अव घरघरमा पहिलो पटक धारा जडान गर्न पाएको बताए ।

यसले उपभोक्ताहरुलाई शुद्ध खानेपानीको ब्यवस्था हुनुका साथै समय समेत बचत भएको उनको भनाई छ ।

टाक्सिङ खानेपानी सरसफाई तथा स्वच्छत्ता योजना निर्माण भएर सञ्चालनमा आउदा लामाखोल्सी गाउँका ३३ घरधुरीमा धारा जडान गरिएको छ । दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छ भने एउटा विद्यालयका लागि पनि बालमैत्री धारा निर्माण गरिएको छ ।

यो खानेपानी योजनाबाट १६५ जनसंख्या प्रत्यक्ष रुपमा लावान्भित हुनु भएको छ भने बाहिरबाट आउने स्थनीयलाई पनि पानी पिउन सहज भएको छ । खानेपानीका धाराका साथै एउटा इन्टेक, एउटा आविटी, इन्लाईनकोलिरेशन एक वटा, आईसी र डिसी एकएक वटा निर्माण गरिएको छ ।