भ्याक्सिन सकिएपछि खोप लगाउने कार्य बिचैमा बन्द

फोटो क्याप्सन खोप लगाउन बाँकी रहेका सिमकोट गाउँपालिका – १ र २ भेडाबाख्रा । तस्बिर ः सि.टा. हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको पशु बिकास शाखाले सवै वडामा सञ्चालन गरि रहेको भेडाबाख्राका लाग्ने महामारी ( पिपिआर ) रोग बिरुद्धको खोप कार्य बन्द गरेको छ ।

खोप लगाउने कार्य चली रहेको भएपनि प्राविधिकहरुसंग भ्याक्सिन सकिएपछि हाललाई खोप लगाउने कार्य बन्द गरिएको हो ।

भेडा बाख्रालाई खोप लगाउने कार्य चली रहेको बेला लक्ष्य भन्दा बढी भेडाबाख्रा देखिएपछि शाखाले ब्यवस्थापन गरेको भ्याक्सिन सकिएपछि हाललाई उक्त रोग बिरुद्धको खोप लगाउने कार्य बन्द गरिएको सिमकोट गाउँपालिकामा कार्यरत पशु प्राबिधिक बिष्णु बुमीले बताए ।

उनले वडा नम्बर १ र २ मा अझै चार हजार पाँच सय भेडाबाख्रा बाँकी रहेको र भ्याक्सिन सकिएपछि खोप लगाउने कार्य बन्द गरिएको उनले बताए । गाउँपालिकाले भ्याक्सिनका यथेष्ट मात्रामा ब्यवस्था गर्न नसक्दा पच्चीस प्रतिशत भेडाबाख्रालाई खोप लगाउने कार्य बन्द गर्नु परेको हो ।

अब पशु अस्पताल तथा पशु सेवा कार्यालयसंग समन्वय गरेर मात्र बाँकी भेडाबाख्रालाई खोप लगाउने कार्य निधो हुने उनले बताए । सिमकोट गाउँपालिकामा चौध हजार भेडा बाख्रा रहेका छन् । अन्यलाई भने खोप लगाउने कार्य पुरा भएको छ । यसका लागि प्राविधिकको टोली सवै वडामा पुगेको थियो ।