
सि.टा. समाचारदाता
सिमकोट। हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एच.पि.भी.) खोप ९४ प्रतिशत किशोरीहरुले लगाउनु भएको छ । स्वास्थ्य सेवा कार्यालयले निर्धारित मितिमा खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयमसेवक परिचालन गरेर फागुन १८ गते आईतबारबाट खोप अभियान सुरु गरेर यो सफलता प्राप्त गरेको हो ।
सात वटा गाउँपालिकाका ४३ वटा वडाहरुका चौरानब्बे प्रतिशत किशोरीहरुले एचपिभी खोप लगाउने कार्य पुरा भएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क ब्यक्ति प्रेम पाण्डेले जानकारी दिए । जिल्लाको लक्षीत सङ्ख्या तीन हजार ४४३ जना रहेकोमा त्यसमा हालसम्म तीन हजार २८१ जना किशोरीले खोप लगाएका हुन ।
अब नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमीमा भने खोप लगाउने कार्य सुरु भएको छैन भने अझै पनि छुटुपुटलाई बाँकी गाउँपालिकामा लगाउने कार्य जारी रहेको कारण यो खोप लगाउने सङ्ख्या बृद्धि हुने देखिएको छ लिमीका किशोरीलाई भने अब बैशाख महिनामा लगाईनेछ ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म २२७ जनाले लगाएर ७१ प्रतिशत किशोरीले खोप लगाएका छन् । त्यसैगरि सिमकोट गाउँपालिकाका बीस खोप केन्द्रबाट ७५६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा त्यो संङ्ख्या बढेर ७८४ किशोरीले खोप लगाएर १०४ प्रतिशतले खोप लगाएका छन् भने खार्पुनाथमा १५ खोप केन्द्रबाट ३६५ लक्ष्य रहेकोमा ३४५ जना किशोरीले खोप लगाएर ९५ प्रतिशतले खोप लगाउन सफल भएको छ ।
यता सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६ को लक्ष्य भएकोमा ६२५ जना किशोरीले खोप लगाएर ९१ प्रतिशत खोपले खोप लगाएका छन् । चङ्खेलीमा सात वटा खोप केन्द्रबाट ३३१ जना लक्षित किशोरी मध्य ३२९ जनाले खोप लगाएर ९९ प्रतिशतले खोप लगाएका छन् त्यस्तै अदानचुलीका दश खोप केन्द्रबाट ६०७ जना किशोरीले खोप लगाउने लक्ष्य रहेकोमा ५९३ जनाले खोप लगाउदा ९८ प्रतिशत किशोरीले खोप लगाए भने ताँजाकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई खोप लगाउने लक्ष्य रहेको ३७८ जनाले नै खोप लगाएर सतप्रतिशतले खोप लगाएका छन् विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने दश देखि चौध वर्ष उमेर समुहका किशोरीलाई उक्त खोप लगाईएको हो ।
यो अभियानका लागि जिल्ला भरिका ९९ वटा खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन हुनु भएको थियो । देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको भएपनि जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको कारण विद्यालय समेत बन्द रहेको कारण फागुन १८ गतेबाट खोप अभिययान सञ्चालन भएको थियो ।
किशोरीहरुलाई खोप लगाउनका लागि तीन हजार ७८० भाईल खोप जिल्लामा आई पुगेको थियो । हालसम्म खोप लगाउने संङ्ख्या हेर्दा त्यो उत्साहजनक रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।















