सिमकोट बिमानस्थल बिस्तार कार्य अलपत्र

फोटो क्याप्सन बिमानस्थल बिस्तार गरिने सिमकोट बिमानस्थलको क्षेत्र । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट बिमानस्थलको बिस्तार कार्य एक वर्षदेखि अगाडी बढ्न सकेको छैन । बिमानस्थल बिस्तारका लागि जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसका लागि सरकारले बजेटको ब्यवस्था गर्न नसकेपछि जिल्लाले तयार गर्ने आवश्यक कागजात तयारी भएपनि सो काम अगाडी बढ्न नसकेको हो ।

नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका अनुसार दुई वर्ष अगाडीदेखि आवश्यक कागजात र अन्य बिबरण तयार हुँदै आएको सिमकोट बिमानस्थलको बिस्तार कार्य पनि यस आर्थिक वर्षमा पनि अगाडी बढ्न सकेको छैन ।

बिमानस्थल विस्तार गर्दा ब्यक्तिगत जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसका लागि सरकारले बजेटको ब्यवस्था गर्न नसक्दा बिमानस्थल बिस्तारको काम अगाडी नबढेको बताउनुभयो ।

कर्णालीको जुम्ला र सुर्खेत बिमानस्थल बिस्तार तथा नयाँ काम गर्नका लागि केही समय अगाडी सरकारले श्रोतको सुनिश्चितता गर्नेमा परेको भएपनि त्यता सिमकोट बिमानस्थल भने पर्न सकेको थिएन । जिल्लाबाट गर्नुपर्ने बिमानस्थल बिस्तारका लागि आवश्यक पर्ने डेढ सय मिटर जग्गा नयाँ अधिग्रहण गर्नुपर्ने र त्यसको सवै लगत लिने कार्य भएको हो ।

त्यसमा साठी दशमलव ८१ वर्ग मिटर जग्गा अधिग्रहणमा पर्ने छन् । अधिग्रहणका लागि जिल्लवाट हुने सवै काम पुरा भई सकेको र बजेट कै कारण यसवर्ष काम अगाडी बढ्न नसेको होे । डेढ सय मिटर नयाँ र डेढ सय मिटर हाल कै जग्गा गरि तीन सय मिटर लम्बाई बिमानस्थलको बिस्तार गरिदै छ ।

यसमा बिमानस्थलको पश्चिमतर्फ नौ वटा नीजि घरहरु समेत अधिग्रहणमा पर्नेछन् । यसै आर्थिक वर्ष काम अगाडी बढेको भए २९ करोड रुपियाँ मुआव्जा लाग्ने भएपनि अब नयाँ आर्थिक वर्षमा त्यो बढेर जाने छ ।