सर्केगार्ड बजारमा सडक बिस्तार कार्य सुचारु

फोटो क्याप्सन सडक बिस्तार कार्य भई रहेको सर्केगार्ड बजार क्षेत्र तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्लाको सर्केगार्ड गाउपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रको डेढ वर्षदेखि अबरुद्ध हुँदै आएको सडकको निर्माण कार्य सुरु भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको समन्वयमा स्थानीय जग्गाधनी र आयोजनाबिच बिबाद समाधान गर्ने गरि समझदारी भएपछि रोकिएको काम अगाडी बढेको हो ।

चार दिन लगातार सडक निर्माण क्षेत्रका जग्गाधनीसंगको छलफल पछि रोकिएको सडक निर्माण कार्य अगाडी बढाउने सहमति भएपछि निर्माण कम्पनीले काम अगाडी बढाएको आयोजनाका योजना प्रमुख वेलबहादुर नेपालीले बताए । करिडोरको सलीसल्लाबाट सर्केगार्डतर्फको सडक निर्माण कार्य सर्केगार्ड बजार क्षेत्रमा अगाडी बढेपछि जग्गाधनीले बिरोध गर्दा काम रोकिएको थियो ।

सो क्षेत्रको सडक आयोजना, जग्गाधनी, निर्माण ब्यवसायी र गाउँपालिकाको सहभागितामा बसेको बैठकले बाह्र मिटर चौढा सडक निर्माण गर्ने समझदारी भएपछि काम अगाडी बढेको छ । सर्केगाड बजार क्षेत्रको पाँच सय मिटर सडकको निर्माण कार्य धमाधम भई रहेको छ । सडक निर्माणका क्रममा सात वटा घर र सोह्र वटा टहरा भत्काउनु पर्ने छ ।

यसअघि सलीसल्लादेखि लेप्चेसम्मको सडक निर्माण कम्पनीले सलीसल्ला सर्केगार्ड र सर्केगार्डदेखि ल्याप्चेसम्मको सडकको ट्रयाक खुलाउने कार्य पुरा भई सकेको थियो । निर्माण कार्य बन्द गरिएको क्षेत्रमा पनि साँँघुरो सडक भने निर्माण भई यातायातका साधनहरु सुचारु भई रहेका थियो । दूई वटा स्थानमा काम केही बाँकी रहेको कारण निर्माण कम्पनीको भुक्तानी समेत रोकिएको थियो । अहिले नियमानुसार सडक चौढा गर्ने कार्य भई रहेको र त्यो पनि अन्तिम चरणमा पुगेको छ ।

रोकिएको क्षेत्रमा मेशिन लगाएर सडक चौढा गर्ने कार्य धमाधम भई रहेको र अब चाँडै सम्पन्न हुनेछ । यो सडक चौढा गर्ने कार्यमा गाउँपालिका सम्पुर्ण रुपमा सहयोग गर्न तयार रहेको र निर्माण कम्पनीले पनि काम तिब्र पार्नु पर्ने छ । यति काम पुरा भएपछि उक्त सडकको ट्रायक खोल्ने कार्य पुरा हुनेछ । यो खण्डको सडक निर्माणका लागि आयोजनाले सपना धुलिखेल जेभीसंग २०७४ साल साउन ६ गते सम्झौता गरेको थियो ।

सुरुमा २०७६ साल साउन १५ गते सडकको निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको भएपनि निर्माण सामाग्री र मेशिन निर्माण स्थल पुर्याउन नसकिएको कारण सात पटकसम्म म्याद थप गर्ने कार्य भएको थियो । यो खण्डको सडक निर्माणका लागि आयोजनाले १७ करोड ७१ लाख ५६ हजार ६४६ रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।