
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला साक्षर जिल्ला घोषणा हुने तय भएको छ । जिल्लाका सात वटै गाउँपालिकाहरु साक्षर घोषणा भई सकेको अवस्थमा अब जिल्लालाई साक्षर घोषणा गर्न लागिएको हो ।
साक्षर अभियान जिल्ला समन्वय समितिको बैठकले हुम्ला जिल्लालाई औपचारिक रुपमा साक्षर घोषणा गर्ने निर्णय गरेको छ ।
घोषणा कार्यक्रम आगामी जेठ ९ गते शुक्रबारका दिन सदरमुकाम सिमकोटमा एक कार्यक्रमकाबिच गरिनेछ ।
सात वटै गाउँपालिका साक्षर घोषणा भई सकेको कारण समितिको बैठकले एक औपचारिक कार्यक्रम सञ्चालन गरेर घोषणा गर्ने सामाजिक बिकास कार्यालयका प्मुख हर्क बस्नेतले बताए ।
सबै भन्दा पहिले खार्पुनाथ गाउँपालिका २०७९ साल असार ३ गते साक्षर घोषणा भएको थियो भने सवै भन्दा पछि नाम्खा गाउँपालिका २०८१ साल फागुन ११ गते साक्षर घोषित भएको थियो । जिल्लाको कुल साक्षरता दर ९६ दशमलव ०४ प्रतिशत रहेको बताउदै उहाँले पन्चानव्वे प्रतिशत साक्षर दर पुगेमान घोषणा गर्न सकिने कानूनी ब्यवस्था रहेको छ । पन्द्रदेखि साठी वर्ष उमेरको जनसंख्या ३६ हजार ३५४ जना रहेकोमा त्यसमा ३३ हजार ९५४ जनसंख्या साक्षर रहेको छ ।
गाउँपालिका अनुसार सात वटा गाउँपालिकाको साक्षरता दर उत्तरी नाम्खा गाउँपालिकामा ९६ दशमलव १६ प्रतिशत रहेको छ भने सिमकोट गाउँपालिकामा ९५ दशमलव छ प्रतिशत, खार्पुनाथमा ९५ दशमलव पाच प्रतिशत, सर्केगार्ड गाउँपालिकामा ९५ दशमलव २५ प्रतिशत, चंखेली गाउँपालिकामा ९५ दशमलव ६४ प्रतिशत, अदानचुली गाउपलिकामा ९५ दशमलव २८ प्रतिशत र ताँजाकोट गाउँपालिकामा ९८ दशमलव ०४ प्रतिशत साक्षरता दर रहेको छ । बैठक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको अध्यक्षतामा वसेको थियो भने सिमकोट गाउपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, शिक्षक क्षेत्रमा काम गर्दे निकाय, विद्यालयका प्रैधानाध्यापक लगाएतको उपस्थिती रहेको थियो ।



















