विपन्नका लागि दुई हजार २८ बेड छुट्याए

ग्राम ज्योति सम्वाददाता
राजविराज, १४ असार । सातवटा ठूला सरकारी अस्पतालले विपन्नका लागि निःशुल्क जनरल बेड छुट्याएका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालहरूले विपन्नका लागि दुई हजार २८ बेड छुट्याएका हुन ।
बिहीबारदेखि सेवा सञ्चालनमा ल्याउने गरी कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले चार सय ५०, ट्रमा सेन्टरले एक सय ५० र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० शय्या छुट्याएका हुन् । यसअघि वीर अस्पतालले सात सय र कोसी अस्पतालले तीन सय ३० शय्यामार्फत निःशुल्क सेवा सुरु गरिसकेका छन् ।
अन्य अस्पतालमा रहेका क्रिटिकल केयर र क्याबिनबाहेकका बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने तयारी गरिएको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । स्वास्थ्य सेवामा विपन्नको पहुँच बढाउन बिस्तारै देशभरिका केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने उनको भनाइ छ । अस्पतालमा रहेका जनरल बेड निःशुल्क गर्दा पर्ने आर्थिक भार अस्पतालको निजी स्रोत र स्वास्थ्य मन्त्रालयले व्यहोर्ने भएको छ । तर वीर, कोसी, ट्रमा सेन्टर, टेकु अस्पताल, प्रसूतिगृहजस्ता अस्पतालले सञ्चालनमा रहेका सबै जनरल बेड निःशुल्क गरेकाले सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने गरी छलफल भएको जानकारी दिएका छन् ।
यसअघिदेखि नै सञ्चालनमा रहेका शय्याको १० प्रतिशत निःशुल्क सेवा दिइरहेको र यसको खर्च जनरल बेडबाट आउने स्रोतबाट जुटाइरहेका कारण सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छलफल भइरहेको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘जनरल बेड मात्रै नभई विपन्नलाई सम्पूर्ण सेवा निःशुल्क दिँदै आएका थियौँ । जसको खर्च जनरल बेडबाट उठ्ने स्रोतबाट हुन्थ्यो । वीर अस्पतालको निजी आयस्रोत नभएकाले यसको खर्च मन्त्रालयले व्यहोर्ने छलफल भएको हो,’ उनले भने ।
विपन्न नागरिक उपचार कोषमार्फत चालू आर्थिक वर्षका लागी वीर अस्पताललाई एक करोड बजेट दिइएको थियो । तर, जेठ अन्तिमसम्मको तथ्यांकअनुसार विपन्नको उपचारमा ६ करोड खर्च भइसकेको पौडेलले बताए । ‘बाँकी पाँच करोड जनरल बेडलगायतबाट व्यवस्थापन गरिरहेका थियौँ । जनरल बेडसमेत निःशुल्क गरे पनि प्रत्येक महिना निःशुल्कको उपचारका लागि कम्तीमा पाँच करोड बजेट आवश्यक हुन्छ,’ उनले भने । सरकारी अस्पतालमा सेवा निःशुल्क भइसकेपछि भिड बढ्ने अनुमान गरिएकाले सेवाको अवधिसमेत लम्ब्याउने तयारी गरिरहेको पौडेलको भनाइ छ ।
यस्तै, परोपकार प्रसूतिगृहमा पनि सबै जनरल बेड निःशुल्क गरिएको छ । प्रसूतिमा गाइनोको बेड शुल्कबाहेक सबै सेवा निःशुल्क छ । तर, हाल सञ्चालनमा रहेका चार सय ८५ बेडमध्ये आइसियू, क्याबिन र गाइनोका बेड पहिलेदेखि नै निःशुल्क रहेको अस्पतालका प्रवक्ता डा. सन्देश पौडेलले बताए । ‘हाल सञ्चालनमा रहेको ६५ वडा गाइनो बेडबाहेक सबै निःशुल्क थिए । अब सम्पूर्ण बेड निःशुल्क गरिने र आवश्यक खर्च स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ,’ उनले भने । यसबाहेकका अन्य पाँचवटा अस्पतालमा पनि विपन्नका लागि छुट्याइएका १० प्रतिशत बेडमा सम्पूर्ण सेवा निःशुल्क गरिने र जनरल बेड सबैका लागि निःशुल्क गरिएको हो ।
निजी अस्पतालमा पनि विपन्नका लागि बेड छुट्याउनुपर्ने नियम कडाइका साथ लागू गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न निजी अस्पतालमा अनुगमन गरेर सञ्चालनमा रहेका कुल शय्याको १० प्रतिशत बेड विपन्नका लागि छुट्याएको मन्त्रालयको भनाइ छ ।