सि.टा. समाचारदाता
सिमकोट । चौरी पालनका लागि उपयुक्त स्थानका रुपमा रहँदै आएको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा चौरीको सङ्ख्या आधा घटेको छ । गाउँवासीले लिमी छोड्दै जानु र चौरी पालनबाट कम आम्दानी हुने देखिएपछि भएका चौरीलाई बिक्री गरेपछि यसको सङ्ख्या घट्दै गएको हो ।
लिमीको हल्जी गाउँका फुन्जोक लामाले एक वर्ष अगाडीको तुलनामा आधा भन्दा बढी चौरी गाई घटेको बताए । यसरी चौरीको सङ्ख्यामा कमी आउनुको मुख्य कारण गाउँलेले लिमी छोड्ने क्रम बढ्दै जानु र चौरी गाई पालनबाट आम्दानी धेरै नहुँने देखिएपछि आफुसंग भएका चौरी गाई बिक्री गरेको कारण पनि सङ्ख्या घटेको होे ।
लामाले पहिले आफ्नो घरमा मात्र एक सय चौरी गाई भएको बताउदै अहिले त्यो सङ्ख्या घटेर पच्चीसमा झरेको र वर्षेनी घट्ने क्रम जारी रहेको बताए । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले चौरी गाई पालनका लागि निक्कै उपयुक्त हावापानी र चरन भएपनि स्थानीयवासी कै कारण चौरी गाईको सङ्ख्यामा कमी आई रहेको बताए ।
गतवर्ष यो अवधिमा ३२० वटा चौरी लिमीका तील र हल्जी गाउँमा भएपनि यस वर्ष त्यो सङ्ख्या घटेर डेढ सयमा झरेको छ । एक वर्ष मै आधा भन्दा बढी चौरी घटेको बताउदै लिमीवासीले चौरी पालनको चाहाना नहुन्जेल यो ब्यवसाय फस्टाउन नसक्ने देखिएको उनको भनाई छ ।
लिमीका तीन गाउँ मध्य जाङवासीले एक वर्ष अगाडी नै गाउँ छोडेको कारण त्यहाँ चौरी गाई नै छैन । अर्को गाउँ तीलमा पनि घरधुरी घट्दै गएको कारण चौरीको सङ्ख्या पनि घटी रहेको र अब तील गाउँवासीले गाउँ छोड्ने निर्णय नै गरि सकेको कारण आगामी मङ्सीर महिना पनि अझै चौरी गाईको सङ्ख्या घट्नेछ । अव जति पनि चौरी गाई रहनेछन ती सवै हल्जी गाउँका मात्र हुने उनले बताए ।
























