मेडिकियर अस्पताल र नाम्खा गाउँपालिकाबिच सम्झौता

सि.टा. समाचारदाता
सिमकोट । काठमाडौंको मेडिकियर अस्पताल लिमीटेड र हुम्लाको दुर्गमको नाम्खा गाउँपालिकाबिच एक सम्झौता भएको हो । नाम्खा गाउँपालिकाका स्थायी वासिन्दाले काठमाडौंको उक्त अस्पतालमा उपचारमा छुटको ब्यवस्था दिने गरि द्धिपक्षीय सम्झौता भएको हो ।

मेडिकेयर अस्पताल लिमिटेड र नाम्खा गाउँपालिकाबिच छ बुदे सम्झौता भएको छ । सम्झौता अनुसार नाम्खा गाउँपालिकाको स्थानीय बासिन्दा भएको सिफारिस गाउँपालिकाले गरि सकेपछि मेडिकेयर अस्पतालले बाहिरका आपुर्तीकर्ताबाट लिनु पर्ने बाहेकका सेवाहरुमा दश प्रतिशत छुटको सुविधा दिने गरि दुई पक्षबिच सम्झौता भएको छ ।

दुई पक्षविच भएको सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी र मतदाता परिचयपत्रका आधारमा बिरामीको गाउँपालिकाले सिफारिस गरेपछि सम्झौता अनुसारको छुटको ब्यवस्था अस्पतालले गर्नेछ । त्यसैगरि यो सम्झौता अनुसार ओपिडी, परामर्स र अस्पतालले बाहिरका आपुर्तीकर्ताबाट लिनु पर्ने सेवा बाहेकका अन्य सवै सेवामा बिरामीलाई दश प्रतिशत छुट दिने ब्यवस्था गर्नेछ ।

अस्पताल मल्टीस्पेसियालीटी भएकोले सवै खाले स्वास्थ्य सेवाका लागि गाउँपालिकाले उक्त अस्पतालमा पठाउनु पर्ने र सो अस्पतालमा नभएका सेवाका लागि उचित सेवा प्रदायककोमा रिफर गर्नेछ । सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा कुनै बिमती वा समस्या देखिए दुवै पक्षको सहमतिमा टुङ्गो पुर्याईने छ ।

यो सम्झौता एक वर्षका लागि लागु हुनेछ र दुवै पक्षको समझादारीमा पून एक वर्षका लागि नविकरण गर्न सकिनेछ । सम्झौतामा पत्रमा नाम्खा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामाले र अस्पतालको तर्फबाट महाप्रवन्धक हरिभक्त सिग्देलले गर्नु भएको छ । यो सम्झौता अक्षरस कार्यान्वयनका लागि पनि दुवै पक्षले प्रतिबद्धता समेत जनाएका छन ।

यसले भौगोलिक रुपमा ठुलोका साथै बिकटमा स्थानीयलाई उपचारका सहयोग पुग्ने बिस्वास गरिएको छ । सम्झौतापछि अस्पतालले सामाजिक उत्तरदायीत्व अन्र्तगत अस्पतालले दुर्गमका वासिन्दालाई यो सुविधा दिने ब्यवस्था गरिएको जनाएको छ ।