सिमकोट हिल्सा खण्डको च्याछरा सडक ढलान अन्तिम चरणमा

फोटो क्याप्सन च्याछरामा ढलान गरिएको सडक । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिल्सा सिमकोट सडक खण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको ग्रेड मिलाउन कार्य सम्पन्न हुँदा सो सडकमा ढलान गर्ने कार्य भएको हो ।

निक्कै असजिलो चट्टानी क्षेत्रका रूपमा परिचित च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य भएकोे ओसिस इन्जिनीयरिङ एन्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले बताए । सिमकोटबाट हिल्सातर्फ जाने र आउने च्याछराको चट्टानी भीर बिष्फोट गर्ने काम सम्पन्न भएकोले ढलान कार्य गरिएको हो ।

यसअघि त्यसलाई सम्याउने र चौडा पार्ने कार्य गरिने भएको थियो । सात देखि साँढे आठ मिटर चौडा सडक निर्माण गरिएको छ । भीर क्षेत्रको दक्षिणतर्फ प्लम्प वाल लगाउने कार्य पनि सम्पन्न भएको थियो । च्याछरामा साँढे चार सय मिटर सडक ढलान गरिएको छ ।

सडकको स्तरोन्नति गर्ने कार्य पूरा भएपछि सडक ढलान गर्ने कार्य गरिएको हो । हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले मुख्य सडक भएका कारण दैनिक काम रोकेर यातायात पनि सुचारु गर्नुपर्ने भएका कारण निर्माण कार्यमा ढिलाई भएको जानकारी दिए ।

सिमकोट हिल्सा सडकको सवै भन्दा असजिलो खण्डमा पर्ने भएको कारण च्याछरामा ढलान गर्ने कार्य गरिएको छ । उनका अनुसार समग्रमा सडकको निर्माण कार्य सन्तोषजनक रहेको छ । च्याछरा सडक ढलान कार्य गरिएपछि यातायातका साधनलाई समेत सहज भएको छ ।

उक्त सडक स्तरोन्नति कार्यका लागि २०७९ सालको चैत १४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो भने यो काम २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ । कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ रुपियाँ रहेकोमा हालसम्म २२ करोड छ लाख ६६ हजार ७० रुपियाँ भुक्तानी भएर ६३ दशमलव ५० प्रतिशत वित्तीय प्रगति भएको छ । च्याछराबाट आसी कान्नसम्मको १६ दशमलव ७ किलोमिटर सडकको स्तरोन्नति कार्य ९५ प्रतिशत भौतिक प्रगति भएको उनको भनाई छ ।