दशै अगाडी नै सुकिला नोट साँट्ने ब्यवस्था हुँदै

सि.टा. समाचारदाता
सिमकोट । दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरुबाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले सूचनामा साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको जनाएको छ ।

चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।