कार्यक्रम सञ्चालनका लागि दवाव नदिन सामाजिक बिकास कार्यालयको आग्रह

फोटो क्याप्सन अभिमुखीकरण कार्यक्रमको उद्घाटन सशका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । चालु आर्थिक वर्षमा बिनियोजित कार्यक्रमहरु सञ्चालन गर्नका लागि दवाव नदिन सामाजिक बिकास कार्यालयले आग्रह गरेको छ । योजना छनौट भएका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष र संयोजकहरुसंग अभिमुखीकरण कार्यक्रम कार्यालय प्रमुख ईश्वर बहादुर सिंहले सो कुरा बताएका हुन ।

चालु आर्थिक वर्षमा कार्यालयले गर्नु पर्ने जति पनि कार्यक्रमहरु रहेका छन, ती सवै दवाव र प्रभावमा परेर कार्यान्वयन गर्ने पक्षमा कार्यालय नरहेको प्रमुख ईश्वर बहादुर सिंहले बताए । कार्यक्रम कार्यान्वयन गर्ने क्रममा अहिलेबाट फोनहरु आई रहेको बताउदै त्यस्ता फोनहरुको दवावमा परेर काम नगरिने र अब कार्यविधि अनुसार मात्र काम गर्ने उनले बताएका हुन । यस्तो कार्य गरेर कार्यालयलई दवाव नदिने उनले आग्रह गरे । कार्यक्रम कार्यान्वयन गर्दा अहिले नै संभावित पर्न सक्ने अख्तियारमा उजुरीलाई पनि ध्यानमा राखेर काम अगाडी बढ्ने उनले बताए ।

यसो भन्दैमा सेवाग्राहीले तर्सन नहुने बताउदै उनले नियम संगत रुपमा हुने कामका लागि कार्यालय बाधक नहुने बताए । दुई दिने सो कार्यक्रम भदौ ३० गते सोमबारसम्म सञ्चालन हुनेछ । सामाजिक विकास कार्यालयको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालयद्धारा यस अार्थिक  वर्षमा भौतिक पुर्वाधारतर्फ निर्माण गर्न लागिएका संरचना निर्माणका लागि समितिसंग छलफल गर्न अभिमुखीकरण कार्यक्रम राखिएको हो ।

यसमा पुर्वाधार निर्माण कार्यको सम्झौतादेखि निर्माण कार्य सम्पन्न गर्दा गनुपर्ने कामका वारेमा छलफल गरिएको छ। सो कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मि  साे कार्यालयका प्रमुख ईश्वर बहादुर सिंह लगाएत कार्यालय प्रमुख र २८ जना विद्यालय तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिको अध्यक्ष, प्रअ र स्वास्थ्य संयोजकको सहभागीता रहेको थियो ।