ठेक्का हाल्ने समय दुई दिन थप

सि.टा. समाचारदाता
सिमकोट । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको अवधि दुई दिन थप गरेको छ। अत्याधिक वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएसँगै यी दिन अन्तिम म्याद भएका ठेक्कामा आवेदन दिन पाउने अवधि थप गरिएको हो।

कार्यालयका अनुसार असोज १९ र २० गते अन्तिम अवधि भएका ठेक्कामा २१ र २२ गतेसम्म विद्युतीय माध्यमबाट खरिद प्रक्रियामा सहभागिता जनाउन सकिनेछ। खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, । २०८२/६/१९ गते र २० गते विद्युतीय खरिद प्रणालीमा अनलाईन दाखिला गर्ने अन्तिम म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र र आशयपत्र प्रस्ताव तथा दरभाउपत्रको अन्तिम म्याद क्रमशः मिति २०८२/६/२१ गते र २०८२/६/२२ गते कायम गएको तथा प्रणाली मार्फत प्रकाशित सम्पूर्ण

बोलपत्र प्रस्ताव तथा दर भाउ पत्रहरुको सम्झौता गर्न बोलपत्रदाताहरुले कार्यसम्पादन जमानत पेश गरि गरिसक्नुपर्ने समयसीमा सोही मितिमा भएमा २०८२/६/२४ गते सम्म वोलपत्रदाताहरुलाई कार्यसम्पादन जमानत पेश गर्न सक्ने व्यवस्था गर्नको निम्ति सार्वजनिक निकायहरुलाई यसै सूचनाका साथ अनुरोध गरिएको व्यहोरा आदेशानुसार अनुरोध गरिएको छ ।