पर्यटकीय सिजनमा हुम्लाका होटेलहरुद्धारा पौने सात करोड कारोबार

सि.टा. समाचारदाता
सिमकोट । मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटेल ब्यवसायीहरुले झण्डै पौने सात करोडको कारोवार गर्न सफल भएका छन । साँढे पाँच महिनामा सदरमुकाम सिमकोट र हिल्साका होटेल ब्यवसायीहरुले सो कारोवार गर्न सफल भएका हुन ।
मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटेलहरुले छ करोड ७२ लाख रुपियाँको कारोवार गरेको होटेल ब्यवसायी संङ्घका अध्यक्ष मिमबहादुर तामाङले बताए । यसवर्ष बैशाखदेखि असोज तेस्रो सातासम्म छ हजर ४०७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकहरुले मानसरोवर कैलशाको यात्रा गरेका थिए ।

पर्यटकहरुले नेपालगंजबाट सिमकोट आएर बास बस्ने र सिमकोटबाट हिल्सा गएर बास बस्ने गरेका थिए । त्यसैगरि तिनै फर्यटकहरुले मानसरोवर कैलाशको दर्शनपछि पनि हिल्सा र सिमकोटमा बास बस्ने गरेका हुन । यसरी बास बस्दा हिल्सा र सिमकोटका होटेलहरुलाई एक जना पर्यटकले दश हजार पाँँच सय रुपियाँ खर्च गरेका हुन ।

अध्यक्ष तामाङको होटेल पोतलाले मात्र यो सिजनमा ७८ लाख भन्दा बढीको कारोवार गर्न सफल भएको थियो । पर्यटकहरुका लागि बास बस्न योग्य होटेलहरु सिमकोटमा आठ वटा र हिल्सामा चार वटा स्थापना गरिएका छन । सिमकोट र हिल्साका होटेलहरुले एक सय देखि एक हजार पाँच सय जना पर्यटकहरुलाई बास दिएर दश लाख पचास हजारदेखि ७८ लाख ७५ हजार रुपियाँसम्म कारोवार गर्न सफल भएका थिए । यसले गर्दा कोरोना पछि सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गर्न सफल भएका हुन ।

चीनले हुम्लाको हिल्सा नाका २०८१ साल वैशाख १८ गतेबाट सञ्चालमा ल्याएको थियो । तर त्यतिबेला भारतीय पर्यटकहरुलाई मानसरोवर कैलाश दर्शन गर्ने अनूमति चीनले दिएको थिएन । २०८२ सालको बैशाखदेखि भारतीय पर्यटकहरुलाई पनि मानसरोवर कैलाश दर्शन गर्ने अनूमति चीनले दिएपछि असोजको तेस्रो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटकहरु आउनु भएको हो । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो पर्छ ।