सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लाका सात वटा सामुदायिक विद्यालयहरु राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका लागि मन्त्रालयले तीन करोड ५७ लाख पचास हजार बजेटको ब्यवस्था गरेको छ । सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार जिल्लाका पाँच वटा गाउँपालिकाका विद्यालयहरूको भवन निर्माणका लागि यो कार्यक्रम स्वीकृत भएको हो ।
जिल्लाका सातै स्थानीय तहबाट एकिकृत शैक्षिक तत्थ्याङ ब्यवस्थापन (ईमिस) प्रणालीमार्फत विद्यालयहरूले अद्यावधिक गरेको भौतिक सर्वेक्षण विवरणका आधारमा तीन प्रकारका कार्यक्रमका लागि हुम्लाका सात वटा सामुदायीक विद्यालय छनोटमा परेका छन ।
जस अनुसार आठ कोठे भवन एक वटा लागि एक वटा, चार कोठे भवन निर्माणका लागि एक वटा र दुई कोठे भवन निर्माणका लागि पाँच वटा विद्यालय छनौटमा परेका छन । छनोटमा परेका विद्यालयहरू सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट दुई दुई वटा नाम्खा, सर्केगाड र ताँजाकोट गाउँपालिकाबाट एक एक वटा रहेका छन् ।
विद्यालय भवन निर्माणका लागि सिमकोट गाउँपालिकाबाट बालमन्दिर मावि सिमकोट र शैपाल हिमाल मावि स्याडा छनोटमा परेका छन् । खार्पुनाथ गाउँपालिकाबाट हुम्ला मावि राया र शंकर मावि विद्यालय थालीको विद्यालय छनौटमा परेका छन् । यस्तै, नाम्खा गाउँपालिकाबाट नाम्खुम महामाया गुम्बा याल्वाङ, सर्केगाड गाउँपालिकाबाट कोट मावि रोडिकोट र ताजाकोट गाउँपालिकाबाट धर्मोदय मावि मैला छनोटमा परेका छन् ।
मन्त्रालयका अनुसार आठ कोठे भवन निर्माणका लागि प्रति विद्यालय एक करोड ३० लाख बजेट, चार कोठे भवन निर्माणका लागि ६५ लाख रुपियाँ र दुई कोठे भवन निर्माणका लागि बत्तीस लाख लाख पचास हजार रुपियाँ अनुदान उपलब्ध हुनेछ । यसका लागि मन्त्रालयले तीन करोड ५७ लाख पचास हजार बजेटको ब्यवस्था गरेको छ ।
मन्त्रालयले यो वजेट सम्वन्धित गाउँपालिकामा निकासा दिएर भवन निर्माण कार्य अगाडी बढाईनेछ । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले २०७७ सालदेखि राष्ट्रपति शैक्षिक सुधार हुँदै राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।























