केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सि.टा. समाचारदाता
सिमकोट ।     आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बदली रहने जनाइएको छ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा, साथै अन्य तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना समेत औंल्याइएको छ ।