सि.टा. समाचारदाता
सिमकोट । स्थानीय बासिन्दाहरुले ब्यक्तिगत जग्गा दिने र सडक निर्माण स्थलमा पर्ने घर भत्काउने सहमति गरेपछि भित्री सडकको निर्माण कार्यले गति लिएको छ ।तीन वर्ष अगाडीबाटै सडक निर्माण गर्ने योजना रहेको भएपनि यसवर्ष सिमकोट गाउँपालिका– ६ को पाउवाडाका ( माथिल्लो गाउँ ) बासिन्दा वासिन्दाहरुको सहमतिपछि उक्त सडक निर्माण गर्ने कार्य भई रहेको हो ।
यसअघि घोडेटो बाटो रहेको पाउवाडा बस्तीको मुग्राधाराबाट तलीवाडासम्मको मुख्य सडकबाट भित्री सडकको निर्माण कार्य धमाधम भई रहेको उक्त बस्तीका स्थानीय राजु रावतले बताए । पहिलेको दुईदेखि तीन मिटर चौढा बाटोलाई हाल पाँच मिटर चौढा निर्माण गर्ने कार्य भई रहेको छ ।
गतवर्षसम्म स्थानीयले यसरी ब्यक्तिगत जग्गा र सडक निर्माण स्थलमा पर्ने घर भत्काउन नमानेपछि सो सडक निर्माण कार्य हुन सकेको थिएन । वडा अध्यक्ष नन्द रावतको पहलमा स्थानीय बासिन्दाहरु विच बसेको बैठकले सडक निर्माणका लागि सहमति जनाएपछि सडक निर्माण कार्य अगाडी बढेको थियो ।
चौत्थादेखि डेढ सय मिटर अगाडीको जोगी पिन्यारासम्म ब्यक्तिका जग्गा र स्याउ, चुली र आरुका बिरुवा काटिएका छन् । सो स्थानमा ग्याविक लगाउने कार्य पनि भई रहेको छ । त्यसैगरि ब्यक्तिका घर जाने सिढीहरु पनि भत्काउने कार्य भएको छ ।
यता सोही बस्तीको तलीवाडा क्षेत्रका सोह्र वटा घरहरु भने भत्काउने कार्य भएको वडा अध्यक्ष नन्द रावतले बताए । त्यसरी भत्काएका घरको आवश्यक संरचना भने सिमकोट गाउँपालिकाले निर्माण गर्ने नियम रहेको छ । सिमकोट गाउँपालिकाको भित्री बस्तीहरुमा सडक निर्माण गर्ने कार्यक्रम अनुसार यो सडक निर्माण गरिएको हो ।
मुग्रधारा, चौत्था, तलीवाडा हुँदै सञ्चार टोलसम्मको सडक निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने छ । निर्माण कार्यपछि भने सो सडकमा यातायातका साधनहरु सञ्चालन हुने भएका छन् ।
























