
सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–८ स्याँडा गाउँमा बाल विवाह तथा बालश्रम विरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको सडक नाटक र देउडा गीत प्रतियोगिता भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ ।
जेठ ३ गते आइतबार सम्पन्न उक्त कार्यक्रमले सामाजिक विकृति विरुद्ध गाउँस्तरमै सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।
स्याँडा हिमाली युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको सहकार्यमा सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा बाल विवाह र बालश्रम जस्ता समाजमा जरा गाडेर बसेका समस्याविरुद्ध स्थानीय कला, संस्कृति र देउडा परम्परालाई माध्यम बनाएर जनचेतना फैलाइएको थियो ।
आयोजक क्लबका अध्यक्ष लोकराज बुढाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बाल विवाह र बालश्रम कानुनविपरीत कार्य मात्र नभई बालअधिकारको गम्भीर उल्लङ्घन भएको सन्देश समुदायसम्म पुर्याउनु रहेको थियो ।
उहाँले यस्ता कार्यक्रमले विशेषगरी युवापुस्ता, अभिभावक तथा समुदायलाई सचेत बनाउँदै सामाजिक परिवर्तनतर्फ अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएको सडक नाटकले बाल विवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था र भविष्यमा पर्ने नकारात्मक असरलाई जीवन्त रूपमा चित्रण गरेको थियो ।
नाटकमा कम उमेरमै विवाह गर्दा निम्तिने दुःख, पीडा, पारिवारिक तनाव, स्वास्थ्य समस्या तथा कानुनी कारबाहीसम्मका विषयलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको थियो ।
बालश्रमले बालबालिकाको बाल्यकाल खोसिने र उनीहरूको भविष्य अन्धकारतर्फ धकेलिने अवस्थालाई समेत नाटकमार्फत देखाइएको थियो ।
स्थानीय दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा प्रस्तुत सडक नाटकले धेरैलाई भावुक बनाएको थियो भने देउडा गीतहरूले चेतनामूलक सन्देशलाई अझ प्रभावकारी बनाएका थिए ।
कार्यक्रममा परिवर्तन टोल, गुम्बाटोल, घरदेउ टोल र थर्पुकोट टोलबीच देउडा गीत प्रतियोगिता सञ्चालन गरिएको थियो । सहभागी टोलीहरूले बाल विवाह र बालश्रम अन्त्यका लागि समुदाय, अभिभावक, शिक्षक तथा युवाहरू एकजुट हुनुपर्ने सशक्त आवाज उठाएका थिए ।
देउडा प्रतियोगितामा सहभागी कलाकारहरूले आफ्ना प्रस्तुतीमार्फत “बाल विवाहले भविष्य बर्बाद बनाउँछ”, “बालश्रमले सपना चुँडिन्छ” जस्ता चेतनामूलक भाव प्रस्तुत गरेका थिए । परम्परागत लय र स्थानीय भाषाशैलीमा प्रस्तुत गीतहरूले कार्यक्रमलाई थप आकर्षक र सन्देशमूलक बनाएको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने देउडा टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । स्थानीयवासी, बुद्धिजीवी, अभिभावक तथा युवाहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले बाल विवाह तथा बालश्रम अन्त्यका लागि कानुन निर्माण मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक परिवर्तन र सामूहिक अभियान आवश्यक रहेको धारणा राखेका थिए ।
हरेक घर, टोल र समुदायबाट सचेतना अभियान सञ्चालन गर्न सके मात्र यस्ता सामाजिक विकृतिको अन्त्य सम्भव हुने उनीहरूको भनाइ थियो ।
त्यसैगरी गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत गोविन्द चौधरी तथा किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले सडक नाटक र देउडा प्रतियोगितामार्फत प्रवाह गरिएको सन्देशलाई व्यवहारमा कार्यान्वयन गर्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले स्याँडा गाउँलाई बाल विवाह तथा बालश्रममुक्त वडा बनाउने अभियानमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै सामाजिक रूपान्तरणका लागि सामुदायिक एकताको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।
साथै बाल विवाह गर्दा हुने कानुनी सजाय, सामाजिक असर तथा बालअधिकार सम्बन्धी चेतनालाई जनस्तरसम्म पुर्याउन कार्यक्रम प्रभावकारी बनेको आयोजकको दाबी छ ।























