सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रमा रहेको खार्पुनाथ मन्दिर पछाडिको सडकखण्डमा हाल सडक विस्तार तथा मर्मत कार्यअन्तर्गत ब्लास्टिङको काम तीव्र रूपमा सञ्चालन भइरहेको छ ।
सडक अत्यन्तै उकालो तथा जोखिमपूर्ण भएका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ उत्पन्न हुँदै आएकोले उक्त सडकखण्डको स्तरोन्नतिका लागि ग्यालेक्सी कन्स्ट्रक्सनमार्फत मर्मत तथा ब्लास्टिङ कार्य सुरु गरिएको हो ।
सडक निर्माण कार्यमा खटिएका डोजर अपरेटर भुपेन्द्र शाहीले सिमकोट टाइम्ससँग कुरा गर्दै बिहान १० बजेदेखि सुरु गरिएको ब्लास्टिङ कार्य दिउँसो ३ बजेसम्म निरन्तर रूपमा सञ्चालन हुने जानकारी दिएका छन् । उनका अनुसार सडकलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउन चट्टान कटान तथा सडक चौडा बनाउने काम धमाधम भइरहेको छ ।
हाल उक्त क्षेत्रमा मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएर काम अघि बढाइएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै सडक बन्द गरिएको र काम सम्पन्न भएपछि दिउँसो ३ बजेपछि पुनः सडक सञ्चालनमा ल्याइने जनाइएको छ ।
अपरेटर शाहीका अनुसार सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै स्थानीय नागरिक तथा यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । यदि कसैले अटेर गरी जबर्जस्ती सडक पार गर्ने प्रयास गरेमा त्यसबाट हुने मानवीय तथा धनजनको क्षतिको जिम्मेवारी स्वयं सम्बन्धित व्यक्ति नै हुने उनले स्पष्ट पारेका छन् ।
सडक मर्मत तथा ब्लास्टिङ कार्य सम्पन्न भएपछि उक्त सडकखण्डमा सवारी सञ्चालन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।




















