सि.टा. समाचारदाता
सिमकोट । छ वटा वडा रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा गत आर्थिक वर्षसम्म एउटा मात्र वस्ती सडक सञ्जाल जोडिनबाट बाँकी रहेको छ । सो वस्ती कर्णाली नदी पारीको वडा नम्बर ४ को उच्च क्षेत्रमा रहेको चाला गाउँ रहेको हो ।
गाउँपालिकाका २२ वटा बस्ती मध्य अब एउटा मात्र बस्ती चाला गाउँमा हालसम्म सडक सञ्जाल जोडिन नपाएको हो । नाम्खा गाउँपालिकाका अन्य २१ वटा वस्तीमा भने सडक सञ्जाल गत आर्थिक वर्षसम्म जोडिएको छ ।
यसमा आठ वटा वस्ती त कर्णाली करिडोरको सिमकोट हिस्सा सडकसंग जोडिएका छन् । अन्य चौध वस्तीलाई जोड्न भने ग्रामीण सडक निर्माण गरिएको छ । हालसम्म नजोडिएको मात्र नभएर अझै केही वर्षसम्म सडक सञ्जाल पुर्याउन कठिन भएको छ ।
तीन हजार आठ सय मिटर उचाईमा रहेको चाला वस्ती जानका लागि बिचमा कर्णाली नदी भएको कारण पुल निर्माण नगरि सडक निर्माण गरेर काम छैन । सेवाग्राही कम र सडक निर्माण गर्न लागत बढी लाग्ने भएको कारण पनि श्रोत जुटाउन कठिन भएको छ ।
अव चालामा सडक सञ्जाल पुर्याउनका लागि कर्णाली नदीमा पुल निर्माण सहितको बजेटको ब्यवस्था भएपछि मात्र त्यो काम गर्न संभव देखिएको गाउँपालिकाको भनाई छ । तर पनि चाला गाउँ जोड्ने सडक निर्माणका लागि श्रोत जुटाउने प्रयास भने जारी रहेको जनप्रतिनिधिहरुको भनाई छ ।
सडक नजोडिएको कारण गाउँपालिका केन्द्र याल्वाङबाट आठदेखि दश घण्टा पैदल हिड्नु पर्ने बाध्यता स्थानीयलाई रहेको छ । उक्त वस्तीका लागि आवश्यक सामान पनि मानिस वा खच्चड र घोडामा बोकाउनु पर्ने बाध्यता अहिले पनि रहेको छ ।
चाला गाउँ सडक सञ्जाल मात्र नजोडिएको नभएर अन्य बिकास पनि नभएको स्थानीय देटेक लामाको भनाई छ । उहाँका अनुसार सञ्चार, खानेपानी, सिंचाई, बिजुली लगाएतको बिकास पनि पुगेको छैन ।
























