पर्यटकीय सडक भित्तर गौढाको चट्टानी भीर छिचोलियो

फोटो क्याप्सन भित्तर गौढामा चट्टानी भीर छिचोलेर निर्माण गरिएको सडक । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको खार्पुदेखि चुवा खोलासम्मको पर्यटकीय सडकको भित्तर गौढाको कडा चट्टानी भीर छिचोल्ने कार्य पुरा भएको छ । चट्टानी भीरमा बिष्फोट गर्ने र स्काभेटरले सडक निर्माण गर्ने कार्य गरेर भीर छिचोलेर यातायातका साधन गुड्न सुरु भएको हो ।

पुर्बाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले एक वर्षको अथक प्रयासका बावजुद खार्पुदेखि चुँवा खोलासम्मको पर्यटकीय सडकको भित्तर गौढाको चट्नानी भीर छिचोल्ने कार्य पुरा हुँदा सडक सञ्चालनमा आउने कार्य भएको बताए । सो खण्डको अगाडी र पछाडी सडक निर्माण कार्य पुरा भएको भएपनि भित्तर गौढाको १४७ मिटर कडा चट्टानी भीर बाँकी रहेको थियो ।

उक्त भीर बिष्फोट गर्ने र मेशिनले निर्माण गर्ने कार्य गरेर सडक निर्माण गर्न सफल भएको छ । सो भीर छिचोलिएसंगै अव यातायातका साधनहरु खार्पुबाट सिमकोट गाउँपालिका–१ को दोजाम गाउँसम्म सञ्चालन हुन थालेका छन् । यसअघि सो खण्डको सडक नछिचोलिएको कारण सिमकोटबाट दोजाम जान बुराउसे, बरगाउँ र ठेहे भएर यातायातका साधन जानु पर्ने अवस्था थियो ।

भीरमा चारदेखि छ मिटर सडक चौडा पारिएको छ भने तीस देखि पचास मिटर माथिबाट चट्टान काट्ने कार्य गरिएको छ । सो सडकको निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा भएपनि स्थानीय स्तरमा दावा निर्माण सेवाले काम गरेको सो निर्माण सेवाका स्थानीय प्रतिनिधि कुलबहादुर लामाले बताए ।

निक्कै कठिनाईका बिच चट्टानी भीर छिचोलेर सडक निर्माण गरिएको बताउदै उनले निर्धारित समयमा काम पुरा भएको बताए । खार्पु ग्याग्रु सडक निर्माणका लागि आर्थिक वर्ष २०७५।०७६ मा चार करोड बजेटमा ठेक्का लागेर गतवर्ष निर्माण कार्य सम्पन्न भएको थियो ।

निक्कै कडा चट्टान भएको कारण खण्ड निर्माणका लागि पचास लाख बजेट कार्यालय थपेर थप कामका रुपमा सोही निर्माण कम्पनीलाई जिम्मेवारी दिएको थियो । सो सडकको अव दोजाम गाउँबाट चुँवा खोलासम्म सडक निर्माण कार्य जारी रहेको छ ।