सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो ।
कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै निम्नमाध्यमिक तहका शिक्षक अपुग रहेका छन् । यसमा दुई हजार ६९९ जना शिक्षक अपुग छन् । कर्णालीमा कुल दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् ।
हुनुपर्ने सङ्ख्या १७ हजार ३८४ हो । कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक अपुग रहेको छ । यसै गरी ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जना मात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन् ।
यस तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन् भने अहिले एक हजार ८६१ जना कार्यरत छन् । यसै गरी ६०५ माविमा एक हजार ७४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन् भने अहिले एक हजार २७६ जना शिक्षक मात्र छन् । २५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन् ।
यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले ५७९ जना कार्यरत रहेको छ । कर्णालीमा विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुन अनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन जना, निमावि तहमा चार जना, मावि तहमा पाँच जना र उच्च मावि तहमा चार जना हुनु पर्छ । कर्णालीमा शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् ।
निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनु परेको छ । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ । शिक्षक अपुग भएपछि गुणस्तरीय शिक्षामा चुनौती थपिएको छ ।
शैक्षिक प्रावधान अनुसार एक शिक्षकले हिमालमा ४० विद्यार्थी, पहाडमा ४५ विद्यार्थी र तराईमा ५० विद्यार्थी पढाउनुपर्ने हुन्छ । सो अनुसार शिक्षक अभाव भएपछि समस्या थपिएको हो । हिमालतिरका विद्यार्थी पहाड तथा तराईमा झर्दा शिक्षक उता बढी र विद्यार्थी कम भएका छन् ।
शिक्षक दरबन्दी मिलान गर्न सकिएमा अपुग शिक्षकको समस्या ५० प्रतिशत कम गर्न सकिने देखिन्छ । तर शिक्षक पेसागत सङ्घ सङ्गठनका कारण शिक्षक दरबन्दी मिलान हुन सकेको छैन । कर्णालीका एक हजार दुई सयभन्दा बढी विद्यालयमा सरकारको शिक्षक अनुदान नै दिएको छैन । विद्यालयले विद्यार्थी सङ्ख्या धेरै हुने तर शिक्षक अपुग हुने समस्या भोग्नु परेको छ । शिक्षा ऐन, दरबन्दी मिलानजस्ता काम सरकारले गर्न सके धेरै हदसम्म शिक्षकको समस्या समाधान हुने देखिन्छ ।


















