सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा रुट मरमिट बिनै यातायातका साधन सञ्चालन हुँदै आएका छन् । सरोकारावाला निकायहरुले रुट परमिट लिनका लागि कुनै पहल कदमी नगर्दा यातायातका साधन हाल यस्ता सडकमा सञ्चालन हुँदै आएका हुन ।
कर्णाली करिडोर अन्र्तगत हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका–१ को तुम्चको बालुकुना देखि सदरमुकाम सिमकोटसम्मको सडकमा रुट परमिट बिनै यातायातका साधनहरु सञ्चालन हुँदै आएको राम्रपा हुम्लाका अध्यक्ष बिकास महतले बताए ।। सो सडक ६२ किलो मिटर रहेको छ ।
यो खण्डमा दुई वर्षयता यातायातका साधन सञ्चालन हुँदै आई रहेका छन् । हालसम्म सरोकारवाला निकायहरुलाई रुट परमिट लिनेतर्फ कुनै ध्यान जान नसकेको कारण यस्तो अवस्थामा यातायातका साधनहरु सञ्चालन हुँदै आएको छ ।
करिडोरको हुम्ला खण्डको कवाडीदेखि बालुकुनासम्म मात्र अस्थायी रुट परमिटको अनुमति लिईएको छ । नियमत रुट परमिट बिना यातायातका साधनहरु सञ्चालन गर्न पाईदैन । रुट परमिट बिना यातायातका साधन सञ्चालन गर्दा दुर्घटना भएको अवस्थामा समस्या आउने भएको कारण अब चाँडै अस्थायी रुट परमिट लिने ब्यवस्था गर्न आवश्यक देखिएको छ ।
करिडोरको उक्त खण्ड राष्ट्रिय सडक सञ्जालसंग जोडिएको कारण दैनिक पचास साठी वटा साना ठुला यातायातका साधनहरु सञ्चालन हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले उक्त खण्डमा अस्थायी रुट परमिट विनै यातायातका साधन सञ्चालन हुँदै आएको स्वीकार गर्दै सडक निर्माण भएपछि यातायातका साधन सञ्चालनका लागि स्वीकृत लिन आवश्यक रहेको बताए ।
यसअघि रुट परमिट लिनेतर्फ ध्यान जान नसकेको बताउदै अव सो प्रकृया अगाडी बढेको उनले बताए । हुम्ला खण्डको सडकलाई यातायात कार्यालय सुर्खेतले हेर्दै आएको छ । सडकलाई अस्थायी रुट परमिट दिनका लागि प्राबिधिक सहितको टोलीले सडकको अनुगमन गरेर अवस्था हेरी यातायातका साधन सञ्चालनका लागि सिफारिस गर्ने प्रतिबेदन पेश गरेका आधार मात्र कार्यालयले स्वीकृत दिनु पर्ने हुन्छ ।
सडकको अवस्था हेर्नका लागि उपसमिति गठन गरिएको र समितिले चाँडै स्थलगत अनुमगन समेत गर्ने उनले बताए । हाल करिडोरको हुम्ला खण्डमा पर्ने सडक मध्य कवाडी सलीसल्ला र सिमकोट हिल्सा सडकको मात्र अस्थायी रुट परमिट लिएर यातायातका साधन सञ्चाल हुदै आएको भएपनि अन्य आन्तरिक सडकको समेत अस्थायी रुट परमिट नलिई यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।












