भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न सकिने

सि.टा. समाचारदाता
सिमकोट । अब भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न मिल्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामलाई सहज, सरल र थप पारदर्शी बनाउन कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको छ । यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सबै प्रक्रियाहरू सम्पन्न गर्न सकिने कार्यालयले जनाएको छ । यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखतलगायत भौतिक उपस्थितिबाट जाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरूबाहेक अरू सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाई त्यससम्बन्धी पत्र, विवरणलगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाई कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाईनेछ ।
कार्यालयका अनुसार आवेदन पेश भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र त्यसपछि त्यस विषयमा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ ।