सि.टा.समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगत जिल्लाका कार्यालयहरुले आठ महिनामा चौध प्रतिशत पूँजीगत खर्च गरेका छन् । प्रदेश मन्त्रालयबाट कार्यबिधि ढिलो आउनु, योजना निर्माणका लागि सम्भौता ढिलो हुनु र काम पनि ढिलै गरि सुरुवात भएको कारण जिल्लाका सबै प्रदेश कार्यालयहरुको खर्च प्रतिशत कम भएको हो ।
आर्थिक वर्ष सुरु भएयता आठ महिनामा हुम्ला जिल्लाका प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुको पूँजीगत खर्च चौध दशमलव बत्तीस् प्रतिशत मात्र भएको प्रदेश लेखा एकाई प्रमुख रामदत्त पाण्डेले बताए । जिल्लाका सबै प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुको पूँजीगत बजेट एक अर्व २३ करोड छ लाख सत्र हजार बजेट भएकोमा फागुन मसान्तसम्म १७ करोड ६३ लाख ४५ हजार ३३८ रुपियाँ मात्र खर्च भएको उहाँले बताउनुभयो ।
जिल्लामा यसरी बिकासका लागि आएको बजेट कम खर्च हुनुमा कार्यक्रम सञ्चालनका लागि कार्यबिधि वा निर्देशिका ढिलो आई पुग्नु, सम्झौता ढिलो हुनु र हिउदमा जाडो भने काम गर्ने मनस्थिती नै नभएको कारण ती कार्यालयहरुको बित्तिय प्रगति न्यून देखिएको हो । अर्को कुरा जाडोमा काम हुने भएपनि काम नगर्ने प्रबृतिको कारण बजेट खर्च गर्न समस्या हुने गरेको छ । जिल्लामा प्रदेश सरकार अन्र्तगत दश वटा कार्यालयहरु रहेका छन् ।
बिकासे बजेट धेरै भएका पुर्वाधार बिकास कार्यालय, खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, डिभिजन बन कार्यालय न्यून बजेट खर्च गरेका छन् । अव बाँकी साँढे तीन महिनामा यी कार्यालयहरुलाई बजेट खर्च गर्न दवाव पर्नेछ ।























