हनुमान ढोकाबाट पुरानो दुरी निर्धारण गर्ने कोष अलपत्र

सि.टा. समाचारदाता
सिमकोट । काठमाडौंको हनुमान ढोकादेखि हुम्ला जिल्लाको हालको सिमकोट गाउँपालिका– ७ को टुलिङ गाउँमा स्थापना गरिएको कोष अलपत्र अवस्थामा रहेको छ । पहिलेको अवस्थामा दुरी निर्धारण गरिने कोष भन्दा पनि हाल किलो मिटर चलन चल्तीमा आएको कारण यो कोष अलपत्र अवस्थामा परेको हो ।

सोही वडाको डाँडाफया गाउँका मन्दिर सिंहले पहिले निक्कै चर्चा हुने र मानिसहरु सो कोष हेर्नका लागि चहल पहल बढी हुने भएपनि हाल भने अलपत्र अवस्थामा रहेको बताए । सो कोषमा काठमाडौंको हनुमान ढोकाबाट उक्त स्थानसम्म १९८ कोष रहेको उल्लेख गरिएको छ । यसबाट हनुमान ढोकाबाट उक्त स्थानको दुरी बुझ्न सकिन्थ्यो ।

केही वर्ष अगाडीसम्म कोष जताततै चलन चल्तीमा रहने र त्यसले सदरमुकाम सिमकोटबाट जिल्लाका साविकका हरेका गाउँपालिका समितिको दुरी पनि कोषबाटै निर्धारण गर्ने गरिएको थियो । पछिल्ला बर्षहरुमा एक स्थानबाट अर्के स्थानको दुरी निर्धारण किलो मिटरबाट हुन थाले पछि यस्ता ऐतिहाँसिक कुरा ओझेनमा मात्र नपरी अलपत्र अवस्थामा रहेको छ ।

पहिले कोषबाटै सवै दुरी निर्धारण गरिने भएको कारण यसको महत्व र चासो रहने गरेको भएपनि हाल खासै काम नदेखिएकोले कोष बारे कसैलाई चासो र चिन्ता नभएको देखिन्छ । पहिले सबैलाई सो कोष बारे जानकारी हुने गरेको भएपसनि हाल भने मतलवै गर्ने गरिएको छैन । उक्त कोषको संरक्षणमा स्थानीय तहहरुलाई पनि कुनै चासो देखिदैन । यसको संरक्षण गरेर भविष्यका पुस्तालाई जानकारी गराउने कार्य गर्न वडा, गाउँपालिका र प्रदेश सरकारसंग स्थानीयको आग्रह छ ।